काठमाडौँ : मजदुर नेता भीमज्वाला राईलाई नेकपा (एमाले) केन्द्रीय सदस्यमा विजयी गराउन संयुक्त अभियानको थालनी गरिएको छ।
मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै राईलाई केन्द्रीय सदस्यमा जिताउन नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठनका अध्यक्ष डेकनाथ गौतमको संयोजकत्वमा, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनसमेत समावेश रहने गरी परिचालन कमिटी गठन गरिएको हो।
दुवै सङ्गठनका प्रतिनिधिहरू सम्मिलित संयुक्त भेलाले भीमज्वाला राईलाई विजयी बनाउन ११ सदस्यीय संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरेको छ। कमिटीमा दुवै सङ्गठनका नेताहरू सदस्यका रूपमा छन्। भेलाले प्रचार, आर्थिक तथा समन्वयसम्बन्धी उपसमितिहरू पनि गठन गरेको छ।
कार्यक्रममा उद्योग व्यवसायी महासङ्घका सचिव तथा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठनका इन्चार्ज डोलनाथ खनालले पार्टीमा सार्वजनिक यातायात क्षेत्र बुझ्ने र चिन्दे नेतृत्वको अभावका कारण समस्या भोग्नुपरेको उल्लेख गर्दै, उक्त क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तित्व भीमज्वाला राईलाई केन्द्रीय कमिटीमा ल्याउन अभियान सञ्चालन गरिएको बताए।
खनालले पार्टी नेतृत्वसँग सकारात्मक कुराकानी भइरहेको उल्लेख गर्दै, “राईलाई टिममा समावेश गर्नुपर्नेमा हामीले जोड दिएका छौँ। हामी उहाँलाई जिताएरै छाड्छौँ,” भने।
त्यसैगरी संयोजक डेकनाथ गौतमले राई मजदुरको मात्र नभई ४ लाख यातायात व्यवसायी, १३ लाख श्रमिक तथा स्वरोजगार मजदुर र तिनका ४५ लाख परिवारको प्रतिनिधित्व गर्ने व्यक्तित्व भएको बताए। उनका अनुसार इतिहासमै पहिलोपटक यातायात मजदुर र व्यवसायी सङ्गठनहरूले एक भएर पार्टी महाधिवेशनका लागि साझा उम्मेदवार प्रस्तुत गरेका हुन्।
मजदुर, स्वरोजगार तथा व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको भेलामा भीमज्वाला राईले २०४६ सालदेखि राजनीतिक आन्दोलनमा सक्रिय हुँदै ३० वर्षभन्दा बढी समय मजदुर आन्दोलनमा बिताएको अनुभव सुनाए। जैविक र राजनीतिक दुवै उमेरले आफू एमाले केन्द्रीय कमिटीमा बस्न योग्य र अनुभवी भइसकेको पनि बताए।
राईले एमाले मजदुर फ्र्याक्सन कमिटीका सचिव, मजदुर इलाका कमिटी सुनसरी सदस्य, सुनसरी जिल्ला कमिटी सदस्य (तीन कार्यकाल) हुँदै कोशी प्रदेश कमिटी सदस्य (दोस्रो कार्यकाल) सम्मका जिम्मेवारी निर्वाह गरिसकेको उल्लेख गरे। अहिले उनी जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्षका रूपमा जिम्मेवारी सम्हालिरहेका छन्।
प्रस्तावित उम्मेदवार राईले १६ वर्ष मेची–महाकालीसम्म सङ्गठन तथा मजदुर आन्दोलनमा निरन्तर काम गरेको स्मरण गर्दै, पार्टीले दिएको प्रत्येक जिम्मेवारी दृढतापूर्वक पूरा गरेको उल्लेख गरे। उनले आफू मजदुर, जनजाति, खुला वा प्रदेश भूगोल—जुनसुकै क्लस्टरबाट पनि उम्मेदवारी दिन सक्षम रहेको जानकारी गराए।
देशभरका मजदुर तथा व्यवसायीहरूबाट प्राप्त हौसला, जिफन्ट तथा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका नेताहरूको साथ र सहयोगका आधारमा आफूले उम्मेदवारी अघि बढाएको बताए। राईले पार्टीका विभिन्न तहका नेताहरूसँग निरन्तर छलफल गर्दै अघि बढिरहेको जानकारी पनि भेलामा साझा गरे।
प्रतिक्रिया