झापा गोल्डकपः त्रिभुवन आर्मी ३–० को जितसहित क्वार्टरफाइनलमा

आइतबार, २५ माघ २०८२

झापा : डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–० ले स्तब्ध पार्दै त्रिभुवन आर्मी क्लव सातौँ झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–० गोलले हराउदै त्रिभुवन आर्मी झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।

 

खेलको २७ औँ मिनेटमा दिनेश हेञ्जनको क्रस पासमा नविन लामाले वान टचमा आर्मीका लागि सुन्दर गोल गरेर गोलको खाता खोलेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा आर्मीले दोस्रो गोल गर्याे । कप्तान जिलेस्पीजंग कार्कीको पासमा नवयुग श्रेष्ठले गरेको एक्रोब्याटिक प्रहार गोलमा परिणत भएको थियो ।

खेलको अधिकांश समय बल नियन्त्रणमा राख्न सफल आर्मीका लागि अर्को गोल फ्रिकिकमार्फत जर्जप्रिन्स कार्कीले गरेका थिए । मैदानको २५ यार्डमा पाएको बललाई सिधै कार्कीले जाली चुमाइदिएका थिए  ।

तीनजना विदेशी खेलाडीसहित मैदानमा उत्रिएको चर्च ब्वाइजले विपक्षी पोस्टमा खासै दबाब सिर्जना गर्न सकेन । चर्चका खेलाडीहरु आर्मीसामु निरीह बनेका थिए । खेलको २१ औँ मिनेटमा विदेशी खेलाडी जिडेन नाहले डिबक्सबाट गरेको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले विफल बनाइदिए ।

उपाधिको दाबेदार मानिएको आर्मी यो रंगशालामा आयोजना भएका प्रतियोगिताको चार सिजनको विजेता हो । गत सिजनदेखि सहभागिता जनाएको चर्च ब्वाइजले पहिलोपटक नै उपाधि हात पारेको थियो । योपटक आर्मीसामु निरीह बन्दा चर्च ब्वाइज पहिलो चरणबाटै  घर फर्किन बाध्य बनेको छ ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम आर्मीका नविन लामा घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । पहिलो क्वार्टर फाइनलको खेल सोमबार झापा–११ फुटबल क्लब र भारतको सिङलिङ स्पोर्टिङ क्लब सिक्किमबीच हुनेछ ।
 

प्रतिक्रिया

सुरेन्द्र भण्डारी
लेखकको बारेमा
सुरेन्द्र भण्डारी
जिल्ला संवाददाता

विगत २ दशक अघिदेखि पत्रकारितामा सक्रिय भण्डारी झापामा रहेर प्रदेश खबरका लागि जिल्ला संवाददाताका रूपमा कार्यरत छन ।

सम्बन्धित समाचार