विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधानले तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको व्यवस्था गरे पनि व्यवहारमा सोअनुसार काम हुन नसकेको बताएका छन् ।
विराटनगरमा आयोजित प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश र स्थानीय तहबाट ९९ प्रतिशत काम सम्पन्न भएर संघीय सरकारमा पठाइएका कतिपय विषयसमेत समाधान नहुँदा प्रदेश सरकारको कामकाज प्रभावित भएको बताए ।
“संविधानले तीन तहका सरकार समन्वय र सहकार्यमा सञ्चालन हुने व्यवस्था गरे पनि व्यवहारमा त्यसको पालना हुन सकेको छैन,” उनले भने, “यसै कारण प्रदेश सरकारले चाहेजति प्रभावकारी रूपमा काम गर्न सकिरहेको छैन।”
मुख्यमन्त्री कार्कीले प्रदेशमा देखिएका समस्या प्रदेशमै समाधान गर्नुपर्नेमा जोड दिँदै संघसँग समन्वय गर्नुपर्ने विषयहरू संघीय सरकारसँग सहकार्य गरेर अघि बढाउनुपर्ने बताए । कतिपय अवस्थामा प्रदेश सरकारले आफ्नै सिर्जनात्मक ढंगले काम गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले सबै सरोकारवालालाई समन्वयमार्फत समस्या समाधान गर्न आग्रह गरे ।
बैठकमा कोशी प्रदेशको सार्वजनिक खर्च मापदण्ड तथा मितव्ययिता निर्देशिकाका कारण विकास आयोजनाहरू कार्यान्वयनमा अप्ठ्यारो परेको विषय उठाइएको थियो । साथै राजस्व सङ्कलन र राजस्व दायरा विस्तार, आवश्यक कानुन तथा कार्यविधि निर्माण, समपुरक बजेटअन्तर्गतका आयोजनालाई व्यवस्थित रूपमा सञ्चालन गर्ने तथा बेरुजु घटाउने विषयमा पनि छलफल भएको छ ।
त्यसैगरी बहुवर्षीय आयोजनाहरूको दायित्व र त्यसले भविष्यमा पार्ने प्रभाव, साना आयोजना कार्यान्वयनमा देखिएका समस्या, प्रदेश सरकार मातहतको यातायातसम्बन्धी अधिकार खुम्च्याउने प्रयास तथा कृषि आयकरलगायत प्रदेशको क्षेत्राधिकारका विषयमा केन्द्र सरकारले पर्याप्त ध्यान नदिएको प्रसङ्ग पनि बैठकमा गम्भीर रूपमा उठाइएको प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले जानकारी दिए ।
प्रतिक्रिया