रंगेलीमा घरभित्रै महिला मृत फेला, श्रीमान प्रहरी नियन्त्रणमा

आइतबार, २५ माघ २०८२
सांकेतिक फोटो

विराटनगर : मोरङको रंगेली नगरपालिकामा एक महिला घरभित्रै मृत फेला परेको घटनाका सम्वन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । आइतबार दिउँसो रंगेली नगरपालिका वडा नम्बर २ जलियामा ३५ वर्षीया मोरङमई मुर्मू आफ्नै घरको कोठाभित्र मृत अवस्थामा भेटिएकी हुन् ।

 

महिला मृत फेला पर्नुअघि घरभित्र श्रीमान–श्रीमतीबीच विवाद र झगडा भएको जानकारी स्थानीयले प्रहरीलाई दिएपछि घटनाले गम्भीर मोड लिएको छ । सोही सूचनाका आधारमा प्रहरीले मोरङमईका श्रीमान साईना मुर्मूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानमा घटनास्थलबाट शंकास्पद कुनै ठोस प्रमाण फेला नपरेको प्रहरीको भनाइ छ । 

तर, महिला मृत भेटिनुअघि पति–पत्नीबीच विवाद भएको स्थानीयको भनाइलाई आधार मानेर श्रीमानलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए । ‘घरभित्र महिला मृत फेला परेको सूचनापछि तत्काल प्रहरी टोली खटाएर अनुसन्धान सुरु गरिएको हो । हालसम्मको प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद देखिएको छैन । तर, झगडाको सूचना आएकोले श्रीमानलाई नियन्त्रणमा लिएर घटनाको यथार्थ पत्ता लगाउने प्रयास भइरहेको छ,’ डीएसपी चौधरीले भने । 

इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटीको नेतृत्वमा खटिएको टोलीले घटनास्थलको मुचुल्का उठाइसकेको छ । कानुनी प्रक्रिया पूरा गरी मृतक महिलाको शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक महिलाको नाडीमा सामान्य चोटजस्तो देखिएको छ । तर, सो चोट कसरी लागेको हो र मृत्युको कारण के हो भन्ने विषय पोस्टमार्टम रिपोर्ट आएपछि मात्र स्पष्ट हुने प्रहरीको भनाइ छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाको वास्तविकता खुल्ने र त्यसअनुसार थप कानुनी प्रक्रिया अघि बढाइने डीएसपी चौधरीले बताए ।

स्थानीयस्तरमा भने घटनालाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ । घरभित्रै महिला मृत फेला पर्नु र त्यसअघि झगडाको सूचना आउनुले घटनाको गम्भीर अनुसन्धान आवश्यक रहेको स्थानीयको भनाइ छ । हालसम्म कुनै निष्कर्षमा नपुगेको प्रहरीले भने सबै कोणबाट अनुसन्धान गरिरहेको बताउँदै आएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार