धरान : धरानमा जारी २६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा लालिगुरास एसोसिएसन फुटबल क्लब, पोखराले आयोजक धरान फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।
सोमबार धरान रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा निर्धारित समय र अतिरिक्त समयसम्म गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा लालिगुरासले धरानलाई ५–४ गोल अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।
निर्धारित ९० मिनेट तथा थप गरिएको १५ मिनेटको अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो ।
टाइब्रेकरमा लालिगुरासतर्फ राम थापा, टिकराज गुरुङ, सुदीप गुरुङ, अब्दुल युसुफ र आशिष गुरुङले गोल गरे । धरान फुटबल क्लबका विवेक राई, सबिन राई, प्रज्वल थापा र नगेन राईले गोल गरे भने दोर्जे तामाङको प्रहार लालिगुरासका गोलरक्षकले उत्कृष्ट रूपमा रोकेका थिए ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका लालिगुरासका खेलाडी कुम्ब देउबा ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगिता अन्तर्गत मंगलबार झापा–११, झापा र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।
दस टोलीको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होन्डा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी प्रत्येक खेलका ‘म्यान अफ द म्याच’लाई १० हजार रुपैयाँ, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्तालाई ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
प्रतिक्रिया