जापानले दियो नेपाललाई १३२ रनको लक्ष्य

शुक्रबार, २४ असोज २०८२

कप्तान केन्डेल फ्लेमिङको अर्धशतकको बलमा जापानले आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको दोस्रो खेलमा नेपालविरुद्ध १३२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङमा आएको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन जोड्यो। ओपनर तथा कप्तान फ्लेमिङले सर्वाधिक ६० रनको योगदान दिए। उनले ४६ बलमा पाँच चौका र तीन छक्का प्रहार गर्दै आक्रामक ब्याटिङ गरे। गुल्सन झाले गरेको १४औँ ओभरको तेस्रो बलमा कप्तान रोहित पौडेलबाट क्याच हुनुअघि उनले इनिङ सम्हालेका थिए।

त्यसअघि एस्मान रहमानले २५ बलमा एक चौका र दुई छक्कासहित ३१ रन जोडे। यी दुईले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गर्दै प्रारम्भिक संकटपछि जापानलाई सशक्त स्थितिमा पुर्‍याएका थिए। तर, मध्यक्रमका ब्याटरहरूले त्यो लय कायम राख्न नसक्दा जापान ठुलो स्कोर बनाउन असफल रह्यो।

१४ औँ ओभरसम्म तीन विकेटमा १०२ रन बनाएको जापानले अन्तिम ६ ओभरमा थप २९ रनमात्र जोड्न सक्यो।

यी दुईबाहेक बेन्जामिन इटो–डेभिसले १७ रनको योगदान दिए।

नेपालका सन्दीप लामिछाने, गुल्सन झा, सोमपाल कामी र नन्दन यादवले समान एक–एक विकेट लिए। सन्दीपले ४ ओभरमा २५ रन खर्चिए भने गुल्सन र सोमपालले समान २० रन खर्चे।

नेपाल र जापान दुवै टोली आज लगातार दोस्रो जितका खोजीमा छन्। नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले पराजित गरेको थियो भने जापानले पनि कुवेतमाथि पाँच विकेटको जित निकालेको थियो।

विश्वकप छनोटमा एसिया–प्यासिफिक क्षेत्रका नौ टिम सहभागी छन्। तीन समूहमा विभाजन गरिएका ती टिममध्ये प्रत्येक समूहका शीर्ष दुई टोली सुपर–६ मा पुग्नेछन्। सुपर–६ को शीर्ष तीन टोलीले २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपका लागि प्रत्यक्ष छनोट पाउनेछन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार