सामाजिक सुरक्षा कोषमा ‘जान्न भन्नेलाई’ जागिर नदिनुस् : कार्यकारी निर्देशक अधिकारी

बुधबार, १७ मंसिर २०८२

इटहरी : सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने कानुनी प्रावधान हुँदाहुँदै पनि अनेक बहानामा जोगिने प्रवृत्ति देखिएको भन्दै सामाजिक शुरक्षा कोषमा “जान्न भन्नेलाई जागिर नै नदिनुस्” भन्ने कडा आग्रह कोषका कार्यकारी निर्देशक कबिराज अधिकारीले गरेका छन्।

सुनसरीको इटहरीमा नेपाल युवा उद्यम मञ्च सुनसरीले आयोजना गरेको ‘लर्निङ सेसन’ कार्यक्रममा बोल्दै उनले २०७६ सालदेखि सबै श्रमिकका लागि सामाजिक सुरक्षा अनिवार्य भइसकेको उल्लेख गर्दै भने,
“कानुनले भनेको मान्नुपर्छ, नत्र झन्झट आफैँ थेग्नुपर्ने हुन्छ।”

उनका अनुसार, “रोजगारदातालाई कानुनी झन्झटमा पार्ने हाम्रो उद्देश्य होइन। तपाईँहरूको सहजता र सुरक्षाका लागि नै यो व्यवस्था बनेको हो। त्यसैले अझ ढिला नगरी सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुस्, नत्र खाता रोक्का हुनेदेखि कानुनी कारबाहीसम्मको अवस्था आउन सक्छ।”

अधिकारीले सामाजिक सुरक्षा कोषमा जान नमान्ने व्यक्तिलाई रोजगार नदिन समेत उद्यमीहरूलाई सुझाव दिए। कोषका अनुसार हालसम्म करिब २६ लाख ५० हजार नागरिक योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध भइसकेका छन्।

WhatsApp Image 2025-12-03 at 07.13.41
औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना–अशक्तता, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाबाट श्रमिक र उनीहरूको परिवार प्रत्यक्ष लाभान्वित भइरहेको निर्देशक अधिकारीले जानकारी दिए।

उनका अनुसार कोषमा हालसम्म ९५ अर्ब ६८ करोड रुपैयाँ सङ्कलन भइसकेको छ भने २ लाख ५३ हजार १४३ श्रमिकले करिब १७ अर्ब ७२ करोड रुपैयाँ दाबी भुक्तानी प्राप्त गरिसकेका छन्।

कोषले श्रमिकलाई स्वास्थ्य सुविधा बाहेक घर सापटी, शैक्षिक ऋण, बचतमा ब्याज र निश्चित अवधि पूरा भएपछि मासिक पेन्सनजस्ता आकर्षक सुविधा उपलब्ध गराइरहेको कार्यक्रममै जानकारी गराइयो।

कार्यक्रममा मञ्चका अध्यक्ष राजीव घिमिरे, पूर्वअध्यक्षहरू विनोद पौडेल, चन्द्र देवकोटा, उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीसहितका सहभागीहरूले सामाजिक सुरक्षा कोषबारे आफ्ना धारणा राखेका थिए।

सोही क्रममा उद्योग वाणिज्य सङ्घ इटहरीका पूर्वअध्यक्ष तथा महासचिव विनोद पौडेलले कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोष दुवै एकै प्रकृतिका जस्तो बुझिने भएकाले जनमानसमा भ्रम भएको उल्लेख गर्दै उद्योग–व्यवसायी र कोषबीचको समन्वय अझ बलियो बनाउनुपर्नेमा जोड दिए। कार्यक्रममा कोषका विराटनगर शाखाका प्रमुख दीपक भट्ट, महेश घिमिरेसहित उल्लेख्य सङ्ख्यामा युवा उद्यमीहरूको सहभागिता थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार