झापा : जल तथा मौसम विज्ञान विभागले आज साँझ ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको चेतावनी दिएको छ।
यसैबिच झापामा पनि विभिन्न स्थानमा बाढी र डुबानको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र सुरक्षाकर्मीहरू उच्च सतर्क अवस्थामा छन्।
प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीका अनुसार बिरिङ खोला किनार, झापा गाउँपालिका–२ सुंगा बथान, गौरिगञ्जका केही बस्ती, होकलबारी, कचनकवल गाउँपालिका अन्तर्गत पिन्डालबारी लगायतका क्षेत्रलाई ‘संवेदनशील’मा राखिएको छ।
त्यस्तै, कनकाई नगरपालिकाका सुकुम्वासी बस्तीहरू पनि अत्यधिक वर्षा भएमा गम्भीर जोखिममा पर्ने देखिएको छ।
बढ्दो खतरा दृष्टिगत गर्दै जिल्ला विपद् व्यवस्थापन समितिले आपत्कालीन बैठक बसेको छ।
नेपाल प्रहरी र सशस्त्र बलले आफ्ना जनशक्ति तथा मातहतका युनिटहरूलाई सजग गराई बिपद उद्धारका लागि तयारी अवस्थामा राखेका छन।
प्रजिअ अधिकारीका अनुसार, झापामा हाल पानी नपरेको भए पनि जनधनको क्षति हुन नदिने उद्देश्यका साथ सुरक्षाकर्मीहरूलाई उद्धार कार्यमा खटिन तयारी अवस्थामा राखिएको छ।
जिल्ला प्रशासन र स्थानीय निकायहरूले प्रभावित क्षेत्रमा बस्ने स्थानीयलाई आवश्यक सतर्कता अपनाउन र सम्भावित उद्धारका लागि सजग रहन अनुरोध गरेका छन्। सुरक्षा र तयारीमा जोड दिँदा ठूलो क्षति टार्न सकिने विश्वास गरिएको छ।
प्रतिक्रिया