इलाममा जेनजी समूहको ब्यङ्ग्यात्मक अभियान, नगरप्रमुखलाई नै राहत बुझाए

शुक्रबार, २४ असोज २०८२

इलाम :  बाढी–पहिरोको त्रासले थिलथिलो बनेको इलाममा एक अनौठो दृश्य देखियो—जनताले मेयरलाई नै राहत बुझाए। देउमाई नगरपालिकाका मेयर सूर्यप्रसाद पोखरेललाई इलामको जेनजी समूहले राहत वितरण गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

जेनजी समूहका सदस्यहरूले “जनताको पीडा नबुझ्ने मेयरलाई ब्यङ्ग्य स्वरूप राहत” हस्तान्तरण गरेको भन्दै उक्त दृश्य सार्वजनिक गरेका हुन्। उनका अनुसार, पहिरोका कारण घर भत्किँदा, मानिसको मृत्यु हुँदा पनि मेयर जनताको घरदैलोमा पुगेनन्, नत प्रभावकारी राहत–पुनःस्थापनाको पहल गरे।

भिडिओमा समूहका एक सदस्यले भनिरहेका छन्,

हाम्रो जेनजी टिमले सानो राहत कार्यक्रम नगरप्रमुख ज्युलाई नै हस्तान्तरण गर्ने उद्देश्यले आफैं खर्च गरेर ल्याएका हौं। यो राहत उहाँले सहर्ष स्वीकार गर्नुहोला भन्ने हाम्रो अनुरोध छ।

उनीहरूले बोरा र सामाग्रीसहित राहतको प्रतीकात्मक हस्तान्तरण गर्दै स्थानीय सरकारको निष्क्रियतामाथि तीखो व्यङ्ग्य गरेका छन्।

मेयर पोखरेलले भने जेनजी समूहले दिएको राहत आफूले स्वीकार गरेको र पीडितहरूलाई वितरण गर्ने बताएका छन्। “अन्य समूहहरूले पनि राहत ल्याएका छन्, सबैलाई एकीकृत गरेर वितरण गर्छौं,” उनले भने।

गत सातादेखिको अविरल वर्षाबाट इलाममा भएको भीषण पहिरोमा ३९ जनाको मृत्यु भएको छ। धेरै बस्तीहरू उजाडिएका छन् भने उद्धार तथा राहत कार्य अझै जारी छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार