झापा : झापाको शिवसताक्षी नगरपालिका–१ मन्दिर टोलमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार, पाराबारीबाट धरमपुर चौक तर्फ आउँदै गरेको स्कुटर (प्र.१–०१–०१६ प ९३५८) र बिपरित दिशाबाट जाँदै गरेको मोटरसाइकल (प्र.१–०२–०४३ प ९४७५) एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा परी स्कुटर चालक बिर्तामोड–५ निवासी २५ वर्षीया निरूता भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, स्कुटरमा सवार सिन्धुपाल्चोक चिम्लिङबेसी–४ का ३४ वर्षीय सिताराम पराजुली र मोटरसाइकल चालक मोरङ उर्लाबारी–१ का ३१ वर्षीय सुरज कार्की गम्भीर घाइते भएका छन्।
तीनै जनालाई उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड लगिएको थियो। अस्पताल पुगेपछि चिकित्सकले स्कुटर चालक भट्टराईलाई मृत घोषणा गरेका हुन्। अन्य दुई घाइतेको सोही अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया