इटहरी । लेटाङ नगरपालिका–२ फडानीकी १३ वर्षीया अंशु गौतमको दाहसंस्कार आज (मंगलबार) दिउँसो स्थानीय चिसाङ लोखरा घाटमा धार्मिक परम्परा अनुसार सम्पन्न गरिएको छ।
छिमेकीद्वारा हत्या गरिएकी अंशुको अन्तिम विदाइमा ठूलो संख्यामा स्थानीयवासी सहभागि भएका थिए। परिवारजनले दागबत्ती दिए भने उपस्थित स्थानीय तथा मलामीले अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गरे।
अंशुको अन्तिम संस्कारमा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, विभिन्न वडाध्यक्ष, स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा र सर्वसाधारण सहभागी भएका थिए।
असोज २३ गतेदेखि हराएकी अंशु १८ दिनपछि नजिकैको जंगलमा मृत भेटिएकी थिइन्। घटनापछिको लामो अनुसन्धानपछि प्रहरीले उनलाई बलात्कारपछि हत्या गरेको आरोपमा ५९ वर्षीय पदमबहादुर अधिकारीलाई गत शुक्रबार पक्राउ गरेको हो। संलग्न व्यक्तिलाई पक्राउ नगरेसम्म शब नबुझ्ने निर्णय गरेको परिवारले प्रहरीले अभियुक्तलाई पक्राउ गरेपछि शव जिम्मा लिएर आज दाहसंस्कार गरेको हो।
स्व. अंशुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै स्थानीयले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। दाहसंस्कारपछि परिवारले आफ्नो धार्मिक परम्परा अनुसार काजक्रिया सञ्चालन गर्ने बताइएको छ।
प्रतिक्रिया