जेनजी आन्दोलनमा तोडफोड र आगजनी गरेको आरोपमा इलामबाट १५ जना पक्राउ

मंगलबार, २३ मंसिर २०८२

इलाम : गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले इलामबाट १५ जनालाई पक्राउ गरेको छ ।  तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको हो । मङ्सिर २० र २१ मा पक्राउ पर्नेहरू इलामसहित झापा र ताप्लेजुङका बासिन्दासमेत छन् । 

पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता टीकाराम चौहानसमेत छन् । इलाम नगरपालिका ९ का ४६ वर्षे चौहानलाई पनि पक्राउ गरिएको हो । प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार इलाम ७ का ५२ वर्षे कमलकुमार साह हलुवाई, इलाम ६ का २९ वर्षे विशाल नोभाङ, इलाम ७ का ४० वर्षे पवित्तर मल्लिक, इलाम ९ का ३९ वर्षे होमबहादुर खवास, फाकफोकथुम ३ का २३ वर्षे आदर्श राई, इलाम ४ का ३६ वर्षे यादव तिवारी, इलाम ६ का ३० वर्षे अर्जुन तित्रखी, सन्दकपुर २ की २५ वर्षीया अन्जु राई, इलाम १ का ३० वर्षे सागर सङ्ग्रौला छन् । 

यसैगरी, ताप्लेजुङ मिक्वाखोला २ का ३२ वर्षे तेजकुमार बिक, इलाम १२ का २८ वर्षे अनीश राई, इलाम ५ का २३ वर्षे मोहन भनिने मोहनकुमार लिम्बू (फत्र), झापा पृथ्वीनगर घर भई इलाम ५ बस्ने सुरज राई भनिने ४३ वर्षे सुरज गुरुङ र इलाम ९ का ३६ वर्षे सविन राई छन् । उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

जेनजी समूहले भदौ २४ मा गरेको आन्दोलन क्रममा आगजनी र तोडफोड हुँदा इलामका विभिन्न सरकारी कार्यालय, पार्टी कार्यालय, प्रहरी बिट, सवारी साधनलगायतमा क्षति भएको थियो । तोडफोडबाट प्रशासन कार्यालयमा आंशिक क्षति भएको थियो । चोक बजारको प्रहरी पोस्टमा तोडफोड र कागजपत्र आगजनी, बिब्ल्याँटे बजारस्थित प्रहरी पोस्ट तोडफोड र आगजनी गरिएको थियो । यस्तै, इलाम नगरपालिका कार्यालयमा आगजनी र तोडफोड गर्दा करिब पाँच करोड रुपैयाँको क्षति भएको नगरले अनुमान गरेको छ । नगरपालिका कार्यालयका सवारी साधन भवन, झ्याल, ढोका, फर्निचर, कागजात, ल्यापटप, दराजलगायत क्षति भएको थियो । 

WhatsApp Image 2025-12-09 at 4.30.39 PM (2)

जिल्ला निर्वाचन कार्यालयका ल्यापटप, एउटा गाडी, दुई मोटरसाइकल, भवनका झ्याल–ढोका, मतपेटिका, फर्निचर, फोटोकपी, कम्प्युटरलगायतमा तोडफोड गरी क्षति भएको थियो । प्रहरीले निर्वाचन कार्यालयको करिब तीन करोड रुपैयाँको क्षति अनुमान गरेको थियो । करदाता सेवा कार्यालयमा समेत क्षति भएको थियो भने कार्यालयका सबैजसो कागजात बाहिर निकालेर डढाइएको थियो । 

WhatsApp Image 2025-12-09 at 4.30.38 PM (1)

त्यस्तै बिभिन्न पाटीका कार्यालय समेत जलाइएको थियो ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार