आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनल अन्तर्गतको दोस्रो खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ।
जापानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३१ रन बनाएको थियो। त्यसपछि नेपालले १८ ओभरमै ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै जित हात पारेको हो।
नेपालका ओपनर आसिफ शेखले ३८ रनको उत्कृष्ट पारी खेले। उनले २१ बलमा ४ चौका र १ छक्का प्रहार गरे। कुशल भुर्तेलले २१ रन, रोहित पौडेलले १८ रन, सन्दीप जोराले ५ रन र कुशल मल्लले ४ रन जोडे।
अन्त्यतिर दिपेन्द्रसिंह ऐरीले १४ रन र गुल्सन झाले अविजित २८ रन जोडी नेपाललाई सहज जित दिलाए। झाले १२ बलमा दुई छक्का प्रहार गर्दै विस्फोटक ब्याटिङ गरे।
यसअघि जापानका कप्तान केन्डेल फ्लेमिङले ६० रनको योगदान दिएका थिए तर नेपालका बलरहरूले अन्तिम ओभरहरूमा उत्कृष्ट प्रदर्शन गर्दै जापानलाई १३१ रनमै सीमित पारेका थिए।
नेपालले यसअघि पहिलो खेलमा कुवेतलाई ५८ रनले पराजित गरेको थियो।
प्रतिक्रिया