इलामका पहिरो प्रभावित क्षेत्रमा के गर्दैछन् सुहाङ नेम्वाङ ?

उनले स्थानीय तह, प्रशासन, प्रदेश र संघीय निकायसँग छलफललाई पनि निरन्तरता दिइरहेका छन्।

आइतबार, २६ असोज २०८२

पाँचथर : लगातार तीन दिनदेखि इलामका गाउँ–गाउँमा एक जना मानिस सादा पोशाकमा, कालो झोला बोकेर, कहिले मोटरसाइकलको पछाडि त कहिले पैदल यात्रा गर्दै घर–घर पुग्दै छन्। ती हुन् – इलाम  क्षेत्र नम्बर २ का निवर्तमान सांसद सुहाङ नेम्वाङ।

गत साता आएको भीषण पहिरोले इलामका थुप्रै बस्तीहरू उजाड बनाएको छ। धेरैले आफन्त, घर र जग्गा गुमाएका छन्। यही पीडाबीच नेम्वाङ गाउँ–गाउँ पुगेका छन् — पीडितको दुख सुन्न, सान्त्वना दिन र समाधान खोज्न।

विहीबार माइ नगरपालिकाबाट सुरु भएको उनको भ्रमण देउमाई, फाकफोकथुम हुँदै माङसेवुङ गाउँपालिकासम्म पुगेको छ। बाटोमा मोटरसाइकलको पछाडि बसेर, गोजीमा पानीको बोतल र कालो झोला बोकेर उनले राहतभन्दा बढी ‘सुनुवाइ’मा जोड दिएका छन्। स्थानीयले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरहरूमा उनी बगर, टहरो र चिहान नजिकै बस्दै पीडितसँग कुराकानी गरिरहेका देखिन्छन्।

पहिरो गएको सात दिन बितिसक्दा पनि स्थानीय सरकारका प्रतिनिधि नआएको अवस्थामा नेम्वाङ आउनुभयो,” देउमाई–५ की जसमाया राई भन्छिन्, “ठूलो मान्छे हाम्रो कटेरामा आउँदा अब केही होला कि भन्ने आशा पलाएको छ।

कतिपय ठाउँमा नेम्वाङकै उपस्थितिमा राहत वितरणसमेत भएको छ। स्थानीय स्तरका जनप्रतिनिधि नआएको गुनासो सामाजिक सञ्जालमा प्रशस्त देखिएको छ। देउमाईका धनरुप राई भन्छन्, “घरदैलोकै सरकारले बेवास्ता गर्‍यो, तर पुर्व सांसदको उपस्थितिले हामीलाई फेरि आशा दिएको छ।”

नेम्वाङले आफ्नो भ्रमणलाई केवल पीडित भेटघाटमा सीमित नगरी समाधानमुखी पहलको सुरुवात भनेका छन्। “भत्किएका बाटो, बगेका पुल, र विस्थापित नागरिकको पुनःस्थापनाका लागि स्थानीयदेखि संघीय सरकारसम्म म सम्पर्क सेतु बन्नेछु,” उनले प्रदेशखबरसंग भने।

WhatsApp Image 2025-10-12 at 9.10.28 PM

उनका अनुसार, इलाम अहिले अन्धकार र पीडाको घेरामा छ, तर आशा मर्न नहुने बेला हो। “यो कहालीलाग्दो रातपछि उज्यालो आउँछ — यही विश्वासका साथ म यहाँका नागरिकसँग छु,” उनले प्रदेशखबरसंग भनेका छन्।

भ्रमणका क्रममा उनले स्थानीय तह, प्रशासन, प्रदेश र संघीय निकायसँग छलफललाई पनि निरन्तरता दिइरहेका छन्।

समस्या बुझ्नु मात्रै होइन, दीर्घकालीन पुनर्निर्माण र पुनःस्थापनाका उपायमा छलफल सुरु भएको छ।, उनले थपे।

तीन दिनको यात्रामा उनले माइ, देउमाई, फाकफोकथुम र माङसेवुङका पहिरो प्रभावित क्षेत्र अवलोकन गरिसकेका छन्। अब उनले इलाम क्षेत्र नम्बर १ का प्रभावित क्षेत्र भ्रमण गर्ने तयारी गरेका छन्।

स्व. सुवासचन्द्र नेम्वाङका पुत्र सुहाङ २०८१ बैशाख १५ गतेको उपनिर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। अहिले प्रतिनिधि सभा विघटन भइसकेको भए पनि उनले जनताको बीचमा रहँदै इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरिसकेका छन्।

प्रतिक्रिया

लक्ष्मी गौतम
लेखकको बारेमा
लक्ष्मी गौतम
जिल्ला संवाददाता

लेखक ३ दशक अघिदेखि पाँचथर जिल्लामा रहेर सक्रिय रूपमा कलम चलाउँदै आउनुभएको छ ।

सम्बन्धित समाचार