झापा । झापाको दमक नगरपालिका–५ स्थित धनेश्वर मन्दिर नजिकै बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेको छ । आइतबार बिहान करिब ७:३० बजेतिर स्थानियले बन्दुक फेला परेको सूचना इलाका प्रहरी कार्यालय दमकलाई दिएका थिए ।
सोधपुछका लागि तत्काल इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नबिन राईको कमाण्डमा टोली खटिएको थियो । प्रहरीले घटनास्थलमा पुगेर जाँच गर्दा उक्त राइफल यसअघि २०८२ साल भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको भएको पुष्टि भएको हो ।
प्रहरीका अनुसार राइफलसँगै म्यागजिन पनि फेला परेको छ । फेला परेको हतियारलाई प्रहरी टोलीले नियन्त्रणमा लिएर पुनः इलाका प्रहरी कार्यालय दमकमा ल्याई सुरक्षित राखेको जनाएको छ ।
‘जेनजी’ आन्दोलनका क्रममा विभिन्न ठाउँका प्रहरी कार्यालयबाट लुटिएका केही हतियार अझै फेला नपरेका अवस्थामा दमकमा ३०३ राइफल पुनः बरामद हुनु प्रहरीका लागि उल्लेखनीय सफलता मानिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रतिक्रिया