प्राधिकरणलाई नाफामा लगेर निर्यात पाँच अर्ब पुर्‍याउनु मेरो सफलता हो : कुलमान घिसिङ

बुधबार, २८ साउन २०८२

लन्डन । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले   राजनीतिक हस्तक्षेपबिच कर्मचारी र व्यवस्थापनको चुनौती पार गरेर नतिजा दिन सकिएको दाबी गरेका छन् ।

अमेरिकाको दुई साता लामो भ्रमण सकेर बेलायत पुगेका घिसिङले लन्डनमा एक कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो कार्यकालमा घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेर अहिले आयातभन्दा निर्यात पाँच अर्ब रुपैयाँ बढी भएको बताएका हुन् ।

उनले भने, ‘चार महिना कार्यकाल बाँकी छंदै कार्यसम्पादन मूल्याङ्कनमा शून्य दिएर सरकारले मलाई बर्खास्त गरे पनि देश विदेशबाट सम्मान, माया सद्भाव पाएको छु त्यही नै मेरो सम्पत्ति हो ।’

उनले अहिले उज्यालो नेपाल अभियान लिएर प्रवासमा रहेका नेपालीलाई जोड्न भ्रमणमा निस्किएको बताए ।

अभियानको मुख्य उद्देश्य नेपालमा समृद्धिको खाका कोर्ने, दोस्रो देश विदेशमा नेटवर्किङ विस्तार र तेस्रो राम्रो पोलिटिकल लिडरसिप टिम जन्माउने रहेको उनले प्रष्टयाए ।

घिसिङलाई सोमबार हिथ्रो विमानस्थलमा एनआरएनए युके, तमु धिं युकेलगायत  विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले स्वागत गरेका थिए ।   

नेपाललाई संसारभर गोर्खाज् भनेर चिनाउने समुदायमाझ उभिन पाउंदा आफू गौरवान्वित भएको बताउंदै उनले झण्डै २० वर्षपछि यूके आउंदा पाएको माया र सद्भावप्रति आभार व्यक्त गरे । 

कार्यक्रमका सभापति तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले घिसिङले सुरु गरेको उज्यालो नेपाल अभियानको सफलताको कामना गर्दै देशलाई उज्यालोतर्फ अघि बढाउने उनको आकाङ्क्षा साकार बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव डा. विशाल गुरुङले घिसिङले कार्यक्रम सञ्चालन गरेका थिए  ।

बेलायतको कार्यक्रम

बेलायतमा एनआरएनए युकेका दुवै समूहले घिसिङसङ छुट्टाछुट्टै अन्तरक्रिया गर्ने तयारीमा छन् । राजेन्द्र पुडासैनी नेतृत्वको एनआरएनए युकेले शुक्रवार (१५ अगस्ट)  दिउँसो प्लमस्टेडस्थित गोर्खा क्याप्रिकनमा अन्तरक्रिया राखेको छ भने सोही दिन साँझ प्रेम गाहा मगरले नेतृत्व गरेको एनआरएनए युकेले अल्डरसटस्थित एम्पायर हलमा ‘मिट एन्ड ग्रीट’  कार्यक्रम राखेको छ ।

उनलाई सोही अवसरमा नागरिक अभिनन्दन पनि गरिनेछ । उनी २४ अगष्टमा तमु धिं  युकेले आयोजना गर्न लागेको १६ औं नेपाली मेलामा विशिष्ट पाहुनाको रुपमा सहभागी हुनेछन् ।

त्यस्तै उनले स्कटल्याण्डको भ्रमण गर्नुका साथै  विभिन्न संघसंस्थाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने छन् । उनले युरोपका केही मुलुकहरुको पनि भ्रमण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

यसअघि अमेरिकामा रहंदा  घिसिङले टेक्सास, मिशिगन, वाशिंगटन डिसी लगायतका राज्यमा विभिन्न संघसंस्थाद्वारा आयोजित कार्यक्रममा सहभागी भै प्रवासी नेपाली समुदायसंग अन्तरक्रिया गरेका थिए ।

न्युयोर्कमा  उनी लगायत अन्य अभियन्ताहरुलाई हामी नेपाली ग्लोबल संस्थाले ’ग्लोबल हिरो अवार्ड’ ले सम्मान गरेको थियो ।

उनले न्युयोर्कमै अमेरिकन सोसाइटी अफ नेप्लिज इन्जिनियर्सको १८ औं सम्मेलनलाई सम्बोधन गरेका थिए।  त्यस्तै उनले बोस्टनमा नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापक तथा विद्यार्थीहरुसंग पनि छलफल गरेका थिए ।

युरोप र अमेरिकाको झन्डै एक महिना लामो भ्रमणपछि उनी अगस्ट महिनाको अन्तिम साता नेपाल फर्कने छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार