जेनजी प्रदर्शनमा ३५ करोडको क्षतिबाट उक्लँदै इटहरी : अब पुनर्निर्माण कहिले ?

धुलोभित्रको प्रशासन : अस्थायी शाखाका तीन कम्प्युटरमै सेवा सञ्चालन

सोमबार, २७ असोज २०८२

इटहरी : गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा इटहरी उपमहानगरपालिकामा गरिएको आगजनीबाट करिब ३५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरिएको छ।

आगजनीका कारण उपमहानगरपालिकाको सम्पूर्ण प्रशासनिक संरचना, सवारी साधन र प्राविधिक उपकरणहरू जलेर खरानी भएका छन्।

प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर भट्टराईका अनुसार उपमहानगरको  कार्यालयदेखि सहायक संरचना र कागजातहरू समेत पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

उनले भने, “अहिले पनि धुलो टकटक्याएर शाखा–शाखामा बसिरहेका छौँ, बस्ने ठाउँ छैन। कार्यालय सञ्चालनको लागि जम्मा तीन वटा कम्प्युटर चलिरहेका छन्, यही आधारमा अहिले इटहरीवासीलाई सेवा दिइरहेका छौँ।”

आगजनीमा २ ओटा स्कारपियो, २ ओटा दमकल, १ अत्याधुनिक पानी ट्याङ्कर, ३ ट्याक्टर, १ बोलेरो, १ रोलर, १ ग्रेडर, ३ ट्रिपर, १० मोटरसाइकल र १ जेसिभी जलेर ध्वस्त भएका छन्। साथै कार्यालयभित्र रहेका १ सय २२ थान ल्यापटप, कफी मेसिन र अन्य सम्पूर्ण जिन्सी सामग्रीहरू समेत खरानी भएका छन्।

22n

 

5nnभट्टराईका अनुसार, “सबैभन्दा ठूलो क्षति भने महत्वपूर्ण प्रशासनिक कागजात, नक्सा, योजना फाइल र कन्ट्रोल रुमका उपकरण जलेर नष्ट हुनु हो। अहिले नयाँ आधारबाट पुनः अभिलेख पुनर्संरचना गर्ने तयारी भइरहेको छ।”

जेनजी आन्दोलनका क्रममा इटहरी उपमहानगरपालिकाको मुख्य भवनमा आगो लगाइएपछि नगरको प्रशासनिक सेवा पूर्ण रूपमा ठप्प भएको थियो। एक महिनापछि बल्ल दैनिक प्रशासनिक कामकाज आंशिक रूपमा सुरु गरिएको हो।

भवन भत्किएको र उपकरण जलेर नष्ट भएपछि कार्यालयका कर्मचारीहरू अस्थायी कक्षहरूमा सेवा दिइरहेका छन्। भट्टराईले भने, “जनताको सेवामा अवरोध आउन नदिन कठिन परिस्थितिमा पनि हामी सेवा दिइरहेका छौँ। तर अझै सुरक्षा, भवन र प्राविधिक सामग्री पुनः स्थापनाको आवश्यकता छ।”

1n

आगजनीपछि इटहरी उपमहानगरपालिकाले क्षतिको विस्तृत विवरण तयार गरी गृह मन्त्रालय र प्रदेश सरकारलाई पठाउने तयारी गरेको छ । सरकारले क्षतिपूर्ति र पुनर्निर्माणका लागि सहयोगको प्रतिबद्धता जनाएको भए पनि अहिलेसम्म ठोस सहयोग प्राप्त नभएको उपमहानगर स्रोतले जनाएको छ।

आगजनीबाट उपत्यका बाहिर सरकारी संरचनामा सबैभन्दा बढी क्षति बेहोरेको इटहरी उपमहानगरपालिका अब तत्काल नयाँ वारुणयन्त्र खरिद गर्ने तयारीमा रहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत भट्टराईले आपत्कालीन अवस्थाको व्यवस्थापन र आगामी सम्भावित दुर्घटना नियन्त्रणका लागि नयाँ वारुणयन्त्र अत्यावश्यक भएको बताए।

उनका अनुसार आगलागीबाट नष्ट भएका भौतिक संरचनामध्ये अधिकांश काम नलाग्ने अवस्थामा रहेका छन्। “ती संरचनालाई अब कार्यपालिका बैठकको निर्णयपछि डिस्पोज (नष्ट) गरिने तयारी भइरहेको छ,” उनले भने।

9n

भट्टराईका अनुसार उपमहानगरका दुई वटा भवन मात्र प्रयोगयोग्य अवस्थामा रहेका छन् र ती भवनमार्फतै सेवा सञ्चालन थालिने भएको छ। “अबका केही दिनभित्र यही बाँकी भवनबाट नै सबै प्रशासनिक सेवा पुनः प्रारम्भ गर्छौँ,” उनले स्पष्ट पारे।

लेखा शाखासम्बन्धी कागजात र अभिलेखहरू इएफटी (EFT) प्रणालीमार्फत भुक्तानी हुने भएकाले कागजात सङ्कलन सहज भएको पनि उनले जानकारी दिए। “सारा वित्तीय कारोबार डिजिटल प्रणालीमा भएकाले पुनः अभिलेख जुटाउन समस्या परेको छैन,” भट्टराईले दाबी गरे।

5n

उपमहानगरको पुनः स्थापना र पुनर्निर्माण लामो समय लाग्ने अनुमान गर्दै उनले भने, “पहिलेकै अवस्थामा कार्यालय फर्किन कम्तीमा २० वर्ष लाग्न सक्छ, तर जनताको सेवा अबाध रूपमा जारी रहनेछ।”

भट्टराईले इटहरीलाई पुनः व्यवस्थित र सुरक्षित उपमहानगरका रूपमा उभ्याउने प्रतिबद्धता व्यक्त गर्दै थपे, “यो सङ्कटलाई अवसरको रूपमा लिँदै हामी नयाँ सोच र प्रविधिमैत्री संरचना विकासमा लाग्नेछौँ।”

हाल उपमहानगरका शाखा कार्यालयहरूमा अत्यावश्यक सेवा मात्र सञ्चालनमा छन्। सूचना प्रविधि, राजस्व सङ्कलन र योजना विभागका कार्यहरू अत्यधिक प्रभावित भएका छन्।

11n

भट्टराईले अन्त्यमा भने, “हामीले प्रशासन फेरि उठाउने सङ्कल्प गरेका छौँ। यो सङ्कटपछि इटहरी अझ बलियो र पारदर्शी प्रशासनका साथ अघि बढ्नेछ।”

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार