इभि दुर्घटना हुँदा २२ वर्षीया युवतीको घटनास्थलमै मृत्यु, ६ बालबालिकासहित २१ जना घाइते

शनिबार, २५ असोज २०८२

काठमाडौं । सुदूरपश्चिम प्रदेशको डोटीमा आज बिहान भएको सडक दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

अछामबाट धनगढी आइरहेको सुपप्र ०१००१ ख ३९५६ नम्बरको यात्रुवाहक इभि गाडी भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका-२ मा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार दुर्घटनामा अछामको मंगलसेन नगरपालिकाकी २२ वर्षीया हरिया परियारको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा घाइते भएका २१ जनामध्ये ६ जना बालबालिका रहेका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । सबै घाइतेहरूलाई तत्काल उद्धार गरी थप उपचारका लागि धनगढी रिफर गरिएको डीएसपी जोराले जानकारी दिए । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार