काठमाडौँ : जेनजी आन्दोलनका प्रतिनिधिहरू अब सरकारभित्र पनि देखिने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी अभियानका चार युवा नेतालाई मन्त्रिपरिषद्मा समेट्दै नयाँ राजनीतिक सन्देश दिने तयारी गरेकी छिन् ।
प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार, आगामी सोमबार शपथसहित नयाँ मन्त्रीहरूले जिम्मेवारी सम्हाल्नेछन् ।
शुक्रबार साँझ प्राप्त जानकारीअनुसार, मन्त्रीका नामहरू लगभग टुङ्गो लागिसकेका छन् । जेनजी पक्षबाट सरकारमा प्रवेश गर्ने चार जना हुन् — गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोम ।
प्रधानमन्त्रीको सिफारिसमा श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय, रामजी रामलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, र टासी ल्हाजोमलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले टासीको नाममा भने अझ केही छलफल गरिरहेकी बताइएको छ ।
गणपतिलाल श्रेष्ठ देशका सम्पदाहरू जोगाउने अभियन्ताका रूपमा परिचित छन् । उनले रानीपोखरी र पशुपति क्षेत्रमा गरिएको कङ्क्रिट प्रयोगदेखि खुलामञ्चको व्यापारीकरणसम्मको विरोध गर्दै आएका थिए । त्यस्तै, सामाजिक सेवामा सक्रिय बब्लु गुप्ता कोभिड महामारीको समयमा ‘नि:शुल्क खाना अभियान’ सञ्चालन गरेर चर्चामा आएका थिए ।
उनले कपडा बैङ्क स्थापना गर्दै अहिले ‘हन्ड्रेड ग्रुप’ मार्फत एक सयभन्दा बढी विद्यार्थीलाई पढाइरहेका छन् । बिरामीका लागि रगत खोज्नेदेखि राहत वितरणसम्ममा अग्रपङ्क्तिमा देखिँदै आएका गुप्ता जेनजी आन्दोलनका अगुवा नेतामध्ये एक हुन् ।
रौतहटका डा. रामजी राम, चमार समुदायका पहिलो चिकित्सक हुन् । एमबिबिएस अध्ययनका क्रममा आर्थिक सास्तीका बिच डाक्टर बनेका उनी स्वास्थ्य मन्त्रालयको नेतृत्वमा आउँदै छन् ।
स्रोतका अनुसार, उनलाई जनस्वास्थ्य सुधार र स्वास्थ्य संस्थाहरूमा समान पहुँच सुनिश्चित गर्ने जिम्मेवारी दिइनेछ । हुम्लाको लिमि भ्यालीकी टासी ल्हाजोम जलवायु परिवर्तन र महिला अधिकारका विषयमा सक्रिय युवा हुन् ।
दिल्ली विश्वविद्यालयको हिन्दु कलेजबाट स्नातक गरेकी उनी पहाडी समुदायका आवाज उठाउँदै आएकी छन् । प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा सक्रिय अन्य युवालाई पनि आफ्नो सचिवालयमा समावेश गर्ने तयारी गरेकी छन् ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीले २७ भदौमा सम्हालेकी थिइन् । त्यसयता उनले दुई पटक मन्त्रिपरिषद् विस्तार गरिसकेकी छन् । हालसम्म ८ सदस्यीय मन्त्रिपरिषद् रहेको सरकार सोमबारपछि १२ सदस्यीय बन्ने तयारीमा छ ।
(यो समाचार अनलाइन खबरबाट सम्पादन गरिएको र तस्बिर समेत सोही अनलाइनबाट साभार गरिएको हो ।)
प्रतिक्रिया