विराटनगर : सुनसरीको झुम्का कारागारबाट फरार भएका कुख्यात अपराधी पप्पु सिंह उर्फ पप्पुकुमार यादव अन्ततः तीन महिनापछि विराटनगरमा पक्राउ परेका छन् ।
भेडियारी क्षेत्रमा लुकिरहेको अवस्थामा बुधबार दिउँसो उनलाई नियन्त्रणमा लिएर फरार सूचीका अभियुक्त समातेको जानकारी मोरङ प्रहरीले दिएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी हरिनन्दन चौधरीका अनुसार असई धनप्रसाद रिमालको नेतृत्वमा खटिएको टोलीले विराटनगर महानगरपालिका–१८ भेडियारीबाट दिउँसो ३ः४० बजेतिर यादवलाई पक्राउ गरेको हो ।
सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–५ का २९ वर्षीय यादव कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई झुम्का कारागारमा सजाय भुक्तान गरिरहेका थिए । जिल्ला अदालत सुनसरीले उनलाई २४ वर्ष ८ महिना १५ दिन कैद सजाय तोकेको थियो ।
अदालतको फैसला कार्यान्वयनका क्रममा कारागार पठाइएका यादव गत भदौ २४ गते जेनजी आन्दोलनको भिड र उत्तेजनाको मौका छोपेर फरार भएका थिए । फरार भएपछि उनी विराटनगर आसपासको क्षेत्रमा लुकेर बसिरहेको पाइएको छ ।
उनी कारागारबाट भागेपछि प्रहरीको फरार सूचीमा परेका थिए । लामो अनुसन्धान तथा निगरानीपछि विशेष सुराकीका आधारमा उनलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको हो । अहिले उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ ।
सुनसरी प्रहरीले यादवलाई यसअघि गत असार १७ गते इनरुवा नगरपालिका–३ बाट पक्राउ गरेको थियो । अदालतले उनलाई २०८१ भदौ २५ गते दोषी ठहर गर्दै लामो अवधि कैद सजाय सुनाएको थियो । तर, सजाय भुक्तान नगरिकन फरार रहेका बेला पक्राउ गरेर कारागार चलान गरिएका उनी जेनजी आन्दोलनको मौका छोपेर भागेका थिए ।
हत्यामा संलग्नता र लामो समयसम्म कैद सजायबाट बच्न खोजेको विगतका कारण यादवलाई प्रहरीले ‘कुख्यात अपराधी’का रूपमा चित्रण गरेको छ । अपराधिक पृष्ठभूमिका उनको विगतमा पनि विभिन्न अपराधमा संलग्नता रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया