नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरमा काठमाण्डू गोर्खाजमाथि चार विकेटको प्रभावशाली जित निकाल्दै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। अब लुम्बिनीको भिडन्त बिहीबार विराटनगर किंग्ससँग हुने पक्का भएको छ। हारसँगै काठमाण्डूको यात्रा भने यही चरणमै समाप्त भएको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा काठमाण्डूले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। लुम्बिनीको जितमा ओपनर डी’एर्सी शर्टले ३३ रनको महत्वपूर्ण पारी खेले। सन्दीप जोराले २३ रन, कप्तान रोहितकुमार पौडेलले १८ रन, निरोसान डीकवेलाले १४ रन तथा दीलिप नाथले ७ रन जोडे।
काठमाण्डूका सन्तोष यादवले दुई विकेट लिए भने सन्नी पटेल, साहब आलम, कप्तान करण केसी र राशिद खानले समान एक–एक विकेट हात पारे।
त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाण्डू १९.१ ओभरमै १११ रनमा समेटियो। टोलीका सन्तोष यादवले २२ रन, आदील आलम र जोन सिम्पसनले समान १८ रन, भीम सार्कीले १४ रन जोडे। तर शीर्षक्रम पूर्ण रूपमा विफल रहँदा काठमाण्डू प्रारम्भिक अवस्थामा नै दबाबमा पर्यो।
लुम्बिनीका स्पिनरहरू चम्किए—शेर मल्ल र कप्तान रोहित पौडेलले समान तीन–तीन विकेट लिए। रुबेन ट्रम्पेलमनले किफायती स्पेलमा दुई विकेट निकाल्दा अभिशेष गौतमले एक विकेट थपे।
एनपीएलको इतिहासमा दुवै टिम पहिलोपटक प्लेअफ पुगेका हुन्। लिग चरणमा काठमाण्डू तेस्रो र लुम्बिनी चौथो स्थानमा रहँदै नक्सामा सञ्चालित यी टिमबीचको एलिमिनेटरमा लुम्बिनीले बलियो प्रदर्शन गर्यो।
अब दोस्रो क्वालिफायरमा लुम्बिनीले विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्दै फाइनल टिकटका लागि भिड्नेछ। उक्त खेलको विजेता शनिबार सुदूरपश्चिम रोयल्सविरुद्ध उपाधि भिडन्तमा उत्रनेछ।
प्रतिक्रिया