झापा । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकी रहेको समयमा पूर्वी नेपालमा क्रियाशिल पहिचान पक्षधर चार दल एकीकरण भएका छन । पूर्वमा पहिचानको आन्दोलन गर्दै आएका चार राजनीतिक दल झापाको विर्तामोडमा एक औपचारिक कार्यक्रमको आयोजना गरि एकीकृत भएका हुन ।
राष्ट्रिय मुक्ति पार्टी नेपाल, कोचिला संघर्ष समिति, नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर) र संघीय लिम्बुवान पार्टी नेपालले पार्टी एकता घोषणा गरेका छन् । एकतासँगै चारै दललाई राजेन्द्र महतो नेतृत्वको ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’मा समाहित गर्ने निर्णय गरिएको सो अवसरमा जानकारी गराइयो ।
एकता घोषणा कार्यक्रममा कोचिला संघर्ष समितिका संयोजक त्रिनारायण राजबंशी, संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष मित्र लिङदेन, नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर) का वरिष्ठ नेता सञ्जुहाङ पालुङवा र राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले एकता पत्रमा हस्ताक्षर गर्दै चार दल समाहित भएको घोषणा गरेका थिए ।
नेपाली सत्ता संरचनामा दीर्घकालीन परिवर्तन आवश्यक रहेको भन्दै पार्टी एकता घोषणा गरिएको बताइएको छ । एकता घोषणापत्रमा नेपालमा जेन–जी पुस्तादेखि आदिवासी जनजाति, मधेशी, दलित, थारु, मुस्लिम, महिला लगायत सीमान्तकृत समुदायले उठाउँदै आएका पहिचान र समानुपातिक प्रतिनिधित्वका एजेन्डालाई संयुक्त रूपमा अघि बढाइने उल्लेख गरिएको छ । संयुक्त दस्ताबेजमा विद्यमान एकात्मक, केन्द्रीकृत र ‘औपनिवेशिक मानसिकता’मा आधारित सत्ता संरचनामा आमूल परिवर्तन गरी बहुलराष्ट्रिय राज्य निर्माण नै मुख्य लक्ष्य रहेको उल्लेख गरिएको छ ।
कार्यक्रमका वक्ताहरुले पहिल्यै भएका विभिन्न आन्दोलन र सम्झौता—मधेसी मोर्चासँगको ५ बुँदे, लिम्बुवान–थरुहट–आदिवासी जनजाति समूहसँग भएका सहमति—यथाशीघ्र कार्यान्वयन गरिनुपर्नेमा जोड दिए । संविधान–२०७२ लाई पुनर्लेखन गरेर स्वदेशी सभ्यता, बहुलराष्ट्रवाद र समुदायिक समाजवादले निर्देशित शासन संरचना निर्माण गर्ने लक्ष्य पनि उल्लेख छ ।
नवगठित एकीकृत पार्टीमा राजेन्द्र महतो अध्यक्ष, सन्जुहाङ पालुङ्वा वरिष्ठ नेता, त्रिनारायण राजबंशी र मित्र लिङदेन उपाध्यक्ष रहने सहमति भएको छ । एकता घोषणा अनुसार एकीकृत संरचना बनाइनेछ । केन्द्रीय तहदेखि स्थानीय तहसम्म समितिहरू पुनर्गठन गरिने बताइएको छ ।
प्रतिक्रिया