म्याग्दी । जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडकको भुतादैला–तोरीपानी खण्ड स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्न भएको छ ।
म्याग्दीको रणनीतिक महत्वको यस सडकको स्तरोन्नति भएको क्षेत्र बेनी नगरपालिका–९ साविक घतान गाविसको भूगोलमा पर्छ । पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित बेनी–पाखापानी सडक योजनाअन्तर्गत बेनी नगरपालिका–९ भुतादैलादेखि नेप्टेचौर हुँदै तोरीपानी खण्ड स्तरोन्नतिको काम लक्ष्यभन्दा पाँच महिनाअघि नै सम्पन्न भएको हो ।
यो सडक योजना निर्माणका लागि २०८१ साल जेठ २० मा पूर्वाधार विकास कार्यालय र मङ्गलादेवी सुवास कन्स्ट्रक्सन प्रालि नुवाकोटले रु ११ करोड ७६ लाख १२ हजार ५४१ मा ठेक्का सम्झौता गरेको थियो । आगामी २०८३ जेठ २० गतेसम्मको म्याद रहेको योजना निर्माणकार्य माघको तेस्रो साता सकिएको निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले बताए ।
उनले भने, “कालोपत्र भएको सडकमा रङरोगन र सङ्केतचिह्न तथा साइडबार लगाउने काम पनि सकिएको छ, बजेट अभावको असहज अवस्थाका बाबजुद पनि पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघि नै योजना सम्पन्न गरिएको हो ।”
निर्माण व्यवसायी कार्कीले काम सम्पन्न गरे पनि सरकारले विनियोजन गरेको बजेट सकिएकाले पूरै बिलको भुक्तानी नपाएको गुनासो गरे । कार्यालयका अनुसार यो योजनाका लागि रु एक करोड ५० लाख बजेट अपुग भएको छ ।
चार किलोमिटर दूरीमा स्तरोन्नति
भुतादैलादेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्म एक किलोमिटर ९०० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र भएको छ । नेप्टेचौरदेखि तोरीपानीस्थित गलेश्वर मावि परिसरको थप दुई किलोमिटर दूरीमा सडक फराकिलो, ग्रेड, घुम्ती सुधार र अप्ठ्यारो ठाउँमा ढलान भएको पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँले बताए । पाँच सय ५० मिटर दूरीमा ढलान र दुई किलोमिटर ५०० मिटर दूरीमा ग्राभेल भएको छ । यसअघि ३.५ मिटर चौडा सडकलाई कम्तीमा सात मिटर फराकिलो बनाइएको छ ।
म्याग्दी १(१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले निर्माण व्यवसायीको इच्छाशक्ति, सम्बद्ध कार्यालयको समन्वय, जनप्रतिनिधि तहबाट सहजीकरण र समुदायस्तरमा साथ पाउने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने सन्देश बेनी–पाखापानी योजनामा लक्ष्यअघि नै भएको कामले दिएको बताए ।
“धेरै आयोजना समयमै सम्पन्न नहुँदा अलपत्र पर्ने, लागत बढ्ने र जनताले लाभ लिन नसकेको अवस्थामा लक्ष्यअघि नै योजना सम्पन्न हुनु हाम्रा लागि सकारात्मक विषय हो”, उनले भने, “जिल्लामा भित्रिएका योजनालाई निर्धारित समयमा गुणस्तरीय रूपमा सम्पन्न हुने वातावरण बनाएका छौँ ।”
बेनी नगरपालिकाको ९, १०, रघुगङ्गा गाउँपालिकाको ५, ६ र ८ नं वडालाई बेनीबजारसँग जोड्ने बेनी–पाखापानी सडकलाई म्याग्दीको प्राथमिकताप्राप्त आयोजना घोषणा गरिएको छ । विसं २०५६ मा तत्कालीन जिल्ला विकास समितिले मार्ग खोलेको यो सडक २७ वर्षपछि स्तरोन्नति हुँदा स्थानीयवासीमा खुसीयाली छाएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए। निर्माणकार्यको नागरिक तहबाट निगरानी र स्थानीय समस्यालाई समाधानका लागि सहजीकरण गर्न सरोकार समिति बनाइएको उनले बताए । सङ्घीयता कार्यान्वयन हुनुअघि तत्कालीन जिल्ला विकास समितिअन्तर्गतको ‘ड्रिलीप’ परियोजनामार्फत सञ्चालित योजनाले पूर्णता पाउन सकेको थिएन ।
यात्राअवधि छोटियो
यात्राअवधि छोटिएको, झन्झट र कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको नेप्टेचौरका बासिन्दा क्षेत्रबहादुर चोखालले बताउनुभयो । सफा सडकमा सहज रूपमा यात्रा गर्न पाउँदा खुसी लागेको उनले अनुभव सुनाए । यसअघि तोरीपानीदेखि बेनी पुग्न एक घण्टा लाग्ने गरेकामा स्तरोन्नतिपछि २० मिनेटमै पुग्न सकिने भएको नेप्टेचौरका नरबहादुर चोखालले बताए । बेनीदेखि तोरीपानीसम्म अटोरिक्सा चल्न थालेको छ ।
सार्वजनिक यातायातको भाडादर समायोजन गर्न र तोरीपानीदेखि पात्लेखेत, झिँ, पाखापानीतर्फको सडक स्तरोन्नतिका लागि थप योजना र बजेटको व्यवस्था गर्न स्थानीयवासीले माग गरेका छन् । बेनीदेखि किराखोरसम्म करिब पाँच किलोमिटर सडक बेनी नगरपालिका र प्रदेश सरकारले यसअघि नै कालोपत्र र ढलान गरेका छन् ।
तोरीपानीदेखि पात्लेखेत र झिँ हुँदै पाखापानीतर्फ पनि स्तरोन्नतिका लागि थप बजेट व्यवस्थाका लागि प्रदेश सरकारमा पहल गरिएको प्रदेशसभा सदस्य भण्डारीले बताए । थप बजेट व्यवस्थापनका लागि कार्यालयमार्फत प्रदेश सरकारसँग पहल गरिएको उनले बताए ।
बेनी–पाखापानी–ठाडाखानी–मल्कवाङ–मराङ–बिम–दरवाङ–बेनी जोड्ने राहुघाट–म्याग्दी चक्रपथ सडक योजनाअनुसार यस वर्ष बिम–मराङ– मल्कवाङ खण्डमा स्तरोन्नतिका लागि प्रदेश सरकारबाट रु पाँच करोडको बहुवर्षीय ठेक्का आह्वानको तयारी भएको छ ।
प्रतिक्रिया