काँग्रेसको चुनावी नीति: ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान सुरु गर्दै

आइतबार, २५ माघ २०८२

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभाको निर्वाचनका लागि पार्टी सम्बद्ध नेता कार्यकर्तालाई परिचालन गर्न भन्दै ‘फागुन २१ का लागि मेरो २१ दिन’ कार्यक्रम सुरु गर्ने भएको छ ।

आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै यस्तो कार्यक्रम गर्ने निर्णय गरेको हो । त्यसका लागि काँग्रेसले ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२’ को बुँदा नं २१ मा यो विषय उल्लेख गरेको छ ।

‘फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म जसको पदीय जिम्मेवारी जहाँ ÷उसले खट्ने त्यहाँ नीति अन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्नुहुनेछ ।’ निर्णयमा भनिएको छ ।

यसरी खटिँदा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारी साथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि यथास्थानमा कार्य सकेर पुनः आफ्नै जिल्ला÷क्षेत्र÷ पालिका र वडामा केन्द्रित रहने भनिएको छ ।

यस्तै तोकिएको जिम्मेवारी लिएर अन्यत्र गएका बाहेक अरू सबै तहका पार्टी पदाधिकारी र सदस्यहरू आ–आफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहन भनिएको छ । यसैगरी एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा नगएर ‘हाम्रो वडा हामी जिताउँछौँ’ उद्घोषका साथ आ–आफ्नै वडामा खट्न काँग्रेसले भनेको छ । काँग्रेसले पार्टीका सबै भ्रातृ र शुभेच्छुक संस्थामा आवबद्धहरूलाई सोही बमोजिम जिम्मेवारी निभाउन आग्रह गरेको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार