विराटनगर : स्वर्णविन्दु प्राशन सेवन गराउने कार्यक्रम अन्तर्गत आज विराटनगरका बालबालिका नयाँ १८१ जना वालवालिकालाई सेवन गराइएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङले जनाएको छ ।
गत कात्तिक २४ गतेदेखि सुरु भएको उक्त कार्यक्रमअन्तर्गत कात्तिकमा १६० बालबालिकालाई स्वर्णविन्दु सेवन गराइएको केन्द्रका प्रमुख डा प्रवोध चौधरीले जानकारी दिए । डा.चौधरीका अनुसार एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाउने केन्द्रको कार्यक्रम छ । स्वर्णविन्दु प्राशन सुनको भष्म, औषधि मिसाइएको घ्यू र महको मिश्रणबाट तयार गरिन्छ । स्वर्णविन्दु प्राशन प्रत्येक महिनाको पुष्य नक्षेत्रको दिनमा खुवाइने डा. चौधरीले जानकारी वताए । उनका अनुसार एक पटकमा एक हजार बालबालिकालाई यो खुवाउने गरी तयारी गरिएको छ ।
स्वर्णविन्दु प्राशनले बालबालिकाको स्मरण शक्ति र बानीमा सुधार हुने, पाचनशक्ति र शारीरिक बल वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमता मजबुत हुने, बालबालिका ऊर्जावान्, तेजस्वी र सुन्दर हुनेलगायत परिवर्तन हुने केन्द्रका प्रमुख डा चौधरीकले जानकारी दिए ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङका कविराज निरीक्षक वैजनाथ साहले यसलाई परम्परागत आयुर्वेदिक औषधिका रूपमा विश्लेषण गरे । “स्वर्णविन्दु प्राशन, जसलाई सूवर्ण प्राशन वा स्वर्ग प्राशन पनि भनिन्छ, यो एक परम्परागत आयुर्वेदिक औषधि पद्दति हो, जुन एक देखि पाँच वर्षका बालबालिकालाई सेवन गराइन्छ”, साहले भने ।
बालबालिकाको वर्षअनुसार दुईदेखि पाँच थोपा खुवाइन्छ । ब्राह्मी भन्ने एउटा जडीबुटी हो, जसले बालबालिकाको मानसिक विकासमा सकारात्मक प्रभाव पार्छ”, साहले थपे ।
प्रतिक्रिया