झापा : झापा गाउँपालिका–३ निवासी चन्द्र बस्नेतले लगाएको केरा खेती सानोमाई खोलामा आएको बाढीले सखाप बनायो।
गत असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि सानोमाई खोला उर्लिएर पानीको भँगालो बस्ती छिर्दा रङ्गपुरका कृषक बस्नेतको केरा बगान पूर्ण रूपमा नष्ट भयो।
डुबानसँगै सानोमाई खोलाले बगाएर ल्याएको लेदोले केरा बगान पुर्दा बस्नेतले लगाएका २२ हजार केराका घरी पूर्ण रूपमा नष्ट भए। ३० विगाह क्षेत्रफलमा लगाएको केरा खेती नष्ट हुँदा आफूलाई एक करोड रुपैयाँ बराबरको क्षति भएको बस्नेतको भनाइ छ।
दशकौँदेखि बाढीको चपेटामा पर्दै आएका झापा गाउँपालिकाका सुगाबथान, सडकबारी, कुवाडी, सेतुमारी, समिलबाडीलगायतका मानिस सानोमाई खोलामा आएको असोजे भेलसँगै विस्थापित भएका छन्। विस्थापित भएका मध्ये अझै पनि अधिकांश परिवार पुनः स्थापित हुन सकेका छैनन्।
उनीहरूको वास पालमुनि छ। बाढी र डुबान प्रभावितहरूका लागि जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा ‘एकका लागि एक अभियान’ झापा लगायतका सङ्घ–संस्थाले राहत सामग्री वितरण गरिरहेका छन्। बुधबार र बिहीबार मात्रै झापा गाउँपालिकाका झन्डै एक हजार परिवारलाई राहत सामग्री वितरण गरिएको छ।
त्यही भीडमा बस्नेत पनि राहत सामग्री बोकेर पीडितलाई सान्त्वना दिँदै आफैँ राहत सामग्री वितरण गरिरहेका छन्। उनी भन्छन् – “मेरो पनि ३० विगाह क्षेत्रफलमा लगाएको केरा बगान बाढीले सखाप बनायो। नआत्तिनु, जे हुन्छ राम्रैका लागि हुन्छ। हामीले हिम्मत हार्नु हुँदैन। म पनि तपाईँहरूजस्तै पीडित छु। मन दह्रो बनाएर तपाईँहरू समक्ष दुःख बाँड्न राहत सामग्री स्वरूप केरा लिएर आएको छु।”
बाढीले लतार्न बाँकी रहेका सग्ला केरा लिएर बस्नेत अहिले दिनहुँ पीडितलाई राहत वितरण गर्न पुग्छन्। विभिन्न सङ्घ–संस्थाले चामल, नुन, तेल, त्रिपाल, ब्लाङ्केट, म्याट्रेसजस्ता सामग्री राहत स्वरूप प्रदान गरे पनि तत्काल खानका लागि केरा उपयोगी भएपछि बाढी र डुबान पीडितको मुहार हँसिलो देखिन्छ।
आफैँ दुःखमा परेको बेला अरूलाई राहत बाँड्दै हिँड्ने बस्नेतको यो उदाहरणीय र प्रशंसनीय कार्यको अहिले झापामा चर्चा छ। आफ्नै बगानका २२ हजार घरी केरा सखाप हुँदासमेत निराश नभई अरूलाई राहत बाँड्न हिँडेपछि बाढी पीडितलाई समेत प्रेरणा मिलेको राहत वितरण कार्यमा खटिएका नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए।
“सबैभन्दा ठूलो कुरा मन रहेछ,” ढकालले भने, “बस्नेतजीलाई बाढीले केरा खेती नै सखाप बनाउँदा कति ठूलो चोट परेको छ, यस्तो अवस्थामा पनि मानवीय सेवामा समर्पित हुनु चानचुने कुरा होइन।”
३८ वर्षीय बस्नेत बालबालिका तथा वृद्ध वृद्धालाई खोजी–खोजी केरा वितरण गर्छन्। बाढीबाट जो बचेका केरा पिकअपमा लिएर बाढी प्रभावितलाई आफैँ वितरण गरिरहेका छन्।
बी.राज नेपालको शब्द, अशोक दर्जी र टङ्क बुढाथोकीको स्वरमा सजिएको ‘मन बिनाको धन ठूलो कि, धन बिनाको मन’ बोलको गीतले भनेझैँ बाढी पीडित बस्नेत आफैँ राहत वितरणमा खटिएपछि झापामा राहत जुट्ने क्रम जारी छ।
जिल्ला प्रशासन कार्यालय झापाले एकद्वार प्रणालीमार्फत स्थानीय पालिकासँग समन्वय गरेर मात्र राहत बाँड्ने निर्णय गरेसँगै अहिले बाढी र डुबान पीडितका लागि देश तथा विदेशमा रहेका विभिन्न सङ्घ–संस्थाले पालिकासँग समन्वय गरिरहेको झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले बताइन्।
को हुन् बस्नेत ?
झापामा व्यावसायिक केरा खेती सुरु गर्ने बस्नेत झापा गाउँपालिका–३ का स्थायी बासिन्दा हुन्।
२०७४–०७५ सालमा ‘लर्न एण्ड अर्न’ (सिक्दै कमाउँदै) कार्यक्रमअन्तर्गत इजरायल पुगेका उनले त्यहाँबाट फर्किएपछि २०७६ सालबाट झापामा व्यावसायिक केरा खेती सुरु गरेका हुन्।
‘एग्री सेन्टर झापा’ नामक कम्पनी दर्ता गरेर १० कठ्ठा क्षेत्रफलमा केरा खेती सुरु गरेका उनले हाल ३० विगाह क्षेत्रफलमा केरा खेती गर्दै आएका छन्।
उनले आफूले मात्र केरा खेती गरेका होइनन्, गाउँका अन्य २० परिवारलाई समेत केरा खेतीमा आबद्ध गराएका छन्। इजरायलमा सिकेको सिपलाई व्यवहारमा उतार्दै गाउँलेलाई समेत व्यावसायिक केरा खेतीमा प्रेरित गरेका बस्नेतलाई २०८१ सालमा नेपाल सरकारले ‘उत्कृष्ट युवा किसान’ को पुरस्कार प्रदान गरेको थियो।
बस्नेतकै अगुवाइमा भएको केरा खेतीका कारण झापाको रङ्गपुर गाउँलाई सरकारले केरा खेती पकेट क्षेत्रसमेत घोषणा गर्यो। व्यावसायिक केरा खेतीमा सक्रिय रहेका बस्नेतले यो वर्ष ६३ हजार घरी केरा उत्पादन गर्दै बिक्री गर्ने लक्ष्य लिएका थिए। तर, सानोमाई खोलामा आएको असोजे भेलले उनको सपना मात्रै पुरेन, एक करोड रुपैयाँ बराबरको क्षति नै गरायो।
बाढीका कारण बस्नेतको एग्री सेन्टर झापा सहित पूजा खनालको साधना संस्कृति नमुना कृषि प्रा.लि., उराउ कृषि उपज, समृद्धि दिदी–भाइ कृषि फर्म र सुन्नीमा पशुपन्छी तथा कृषि फर्मलगायत झापाका कृषकको करोडौँ रुपैयाँको क्षति पुगेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए।
उनले बाढीका कारण क्षति पुगेका कृषकको सबै विवरण सङ्कलन गर्ने कार्य भइरहेको समेत बताए।
प्रतिक्रिया