काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनका लागि समानुपातिक तर्फ उम्मेदवार हुन इच्छुक व्यक्तिबाट ५० हजार रुपैयाँ शुल्क लिने निर्णय गरेको छ ।
रास्वपाले २२ कात्तिकदेखि समानुपातिक उम्मेदवारका लागि आवेदन खुला गरेको हो । निर्वाचन आयोगको प्रारम्भिक कार्यतालिका अनुसार समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पेस गर्ने मिति १८–१९ पुस तोकिएको छ ।
पार्टीले उम्मेदवार छनोटका मापदण्ड तयार गर्न सहमहामन्त्री विपीन आचार्यलाई जिम्मेवारी दिएको छ । आचार्यका अनुसार कानुनी प्रावधानअनुसार आवश्यक मापदण्डहरू तय गरिएका छन् ।
‘समानुपातिक तर्फ उम्मेदवार हुन इच्छुकले ५० हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ,’ सहमहामन्त्री आचार्यले भने । उनका अनुसार, समानुपातिकको बन्द सूचीमा परेका तर मतका कारण अन्तिम चयनमा नपर्ने उम्मेदवारले बुझाएको शुल्क फिर्ता नहुनेछ ।
यसअघि रुपन्देही–३ को उपनिर्वाचनका उम्मेदवारका लागि पार्टीले २५ हजार रुपैयाँ शुल्क तोकेको थियो । तर, प्रतिनिधिसभा विघटन भएपछि सो निर्वाचन हुन सकेको थिएन ।
रास्वपाले अघिल्लो निर्वाचनमा समानुपातिक तर्फ उम्मेदवार बनेकाहरूलाई यसपटक उम्मेदवार हुन नपाउने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया