भिडियोकलमै अन्तिम भेट: ‘गिफ्ट पठाउँछु’ भनेका मोरङ केराबारीका जगत,अब फर्किँदै छन्—साउदी अरबबाट बाकसमा

साउदीमा नुहाउँदा–नुहाउँदै निधन, २२ दिनदेखि शव अल्झियो

मंगलबार, २५ कार्तिक २०८२

मोरङ (केराबारी) : गत साउन २४ गते बिहान साउदी अरबको सहरबाट आएको भिडियोकल आज पनि जानुका महतको कानमा गुन्जिरहन्छ। त्यो दिन कान्छा दाजु जगत महतसँग उनको हाँसोमय संवाद भएको थियो।

उनले हाँस्दै भनिकी थिइन्, “दाजु, मलाई त गिफ्ट चाहियो नि!” मुस्कुराउँदै दाजुले जवाफ दिएका थिए, “हुन्छ नि बहिनी, तलब आएपछि पठाइदिन्छु।”

त्यो क्षण, त्यो वाचा, त्यो आत्मीयता—सबै सहज लागेका थिए। तर जानुकाले सोच्न पनि सकिनन्, त्यो भिडियो कल नै दाजुसँगको अन्तिम संवाद हुनेछ भनेर।

तिहार नजिकिँदै थियो। तिहारको उमङ्गमा गाउँघर रमाइरहेको थियो। नेपालीहरूको दशैँपछि आउने अर्को ठूलो चाड भएकाले पनि बेग्लै किसिमको उत्साह छाएको थियो।

परदेशमा रहेका दाजुसँग भर्चुअल टिका लगाउने सोचले उनी उत्साहित थिइन्। तर कागतिहारको बिहान जब फोन बज्यो, त्यो घण्टीले केवल आवाज मात्र ल्याएन—जीवनको अर्थ नै उल्ट्याइदियो।

साउदीबाट आएको फोनले भन्यो, “जगत अब छैनन्।” क्षणभरमै संसार अन्धकारमा डुब्यो। दीपावलीको उज्यालो एकै पटक मसानघाटको छायाँमा फेरियो।

साउदी अरबको चर्को घाम र रेगिस्तानी हावामा दिनरात खटेर कमाएको पैसा बोकेर आफ्नो सानो कोठातिर फर्किएका थिए उनी।

थकित शरीरलाई आराम दिन खाना खानुअघि नुहाउने सोच बनाएर बाथरुम पसे। तर, त्यो नुहाइ उनको जीवनको अन्तिम क्षण बन्न पुग्यो। कात्तिक १ गते राति मृत्यु भएका महतले ढोका नखोलेपछि चिन्तित साथीहरूले प्रहरी बोलाए। ढोका फोडेर हेर्दा बाथरुममै उनको निर्जीव शरीर भेटियो।

केराबारी गाउँपालिका–५ सत्तीसालेका ५३ वर्षीय जगत महत करिब १९ वर्षअघि साउदी अरब पुगेका थिए। गाउँको सानो खेत, बूढा आमा–बुबा, श्रीमती र साना सन्तानका आँखामा उज्यालो भविष्य देख्ने सपना बोकेर उनले परदेशको बाटो रोजेका थिए।

उनका साथीहरू भन्छन्—जगत सधैँ हाँस्ने, सबैलाई सहयोग गर्ने र परिवारका लागि बाँच्ने मान्छे थिए। झन्डै दुई दशक साउदीको कठोर मौसम र रुखो मरुभूमिमा पसिना बगाउँदै बिताए उनले। परिवारका लागि, सन्तानको भविष्यका लागि र घरमा उज्यालो ल्याउनका लागि। तर नियतिले उनलाई फर्कायो—सासरहित शरीरमा।

मङ्सिर–पुसतिर कम्पनीबाट सधैँका लागि बिदा भएर घर फर्कने तयारीमा थिए उनी। श्रीमती बुद्धिमायासँग उनले केही दिनअघि मात्र फोनमा भनेका थिए, “यसपालि अलि बढी पैसा बचाएँ।” उनले घर खर्चका लागि पैसा पनि पठाएका थिए। तर अहिले त्यो घरमा छ—उनकै मृत्युको खबर, आँसु र मौनता। बुद्धिमाया शोकको समुद्रमा डुबेकी छन्। उनी भन्छिन्, “उनी मसँग कुरा गरेर जानुभएको थियो। म अझै पनि विश्वास गर्न सक्दिनँ, उहाँ अब फर्किँदै हुनुहुन्छ—तर बाकसमा।”

जगतका तीन सन्तान छन्—जेठो छोरा उदेश कतारमा वैदेशिक रोजगारीमा छन्, छोरी इच्छा स्नातक पढ्दै छिन् र कान्छो छोरा उदित गाउँमै काम गर्छ। अब उनीहरूको नजर आकाशतिर उठेको छ—जहाँ उनीहरूले बाबु र सहाराको उज्यालो गुमाएका छन्।

बुबाको निधनको खबर सुनेपछि कतारमा रोजगारीको सिलसिलामा पुगेका जेठा छोरा उदेश सोमबार नेपाल आएका छन् भने भारतको देहरादुनमा रहेका अर्का दाइ पनि नेपाल आइपुगेका छन्।

काइँला दाइ खामबहादुर महतले भने, “भाइको शव ल्याउने सबै प्रक्रिया पूरा भइसकेको छ, तर साउदी प्रशासनले हस्ताक्षर नगरेकाले अझै रोकिएको छ।” उनका अनुसार कम्पनीले आवश्यक कागजात पठाउन ढिलाइ गरिरहेको छ। २२ दिन भइसके पनि जगतको शव अझै साउदीमै अल्झिएको छ।

परिवारमा असह्य पीडा छ—बुबा–आमाको आँसु, श्रीमतीको शून्यता र सन्तानको मौनता। गाउँमा सन्नाटा छ, जहाँ कहिल्यै जगतको हाँसो गुन्जिन्थ्यो। सत्तीसालेको आँगनमा अहिले केवल प्रतीक्षाको मौनता बाँकी छ।

जानुका अझै पनि त्यो भिडियो कल सम्झन्छिन्। उनी भन्छिन्, “उहाँ गिफ्ट पठाउने वाचा गरेर जानुभएको थियो। तर अब त उहाँ नै गिफ्ट भएर आउनुहुने भयो—बाकसमा।”

साउदीको बालुवामुनि सपना रोप्ने हजारौँ नेपालीमध्ये एक थिए जगत। उज्यालो खोज्दै परदेश पुगे, फर्किए अनन्त अन्धकार बनेर। सत्तीसालेको आँगनमा अहिले प्रतीक्षाको मौनता छ। गाउँ सन्नाटामा डुबेको छ, जहाँ कहिल्यै जगतको हाँसो गुन्जिन्थ्यो।

परदेशको सपना पूरा हुनुअघि नै टुट्यो – एउटा परिवार अधुरो वाचा र शोकको छायाँमा बाँचिरहेको छ।

 

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार