इस्लामी सङ्घले देशव्यापी सामाजिक सञ्जालको सदुपयोग गर्ने अभियान सुरु

मंगलबार, २५ कार्तिक २०८२

 सुनसरी : इस्लामी सङ्घ नेपालले मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोगबारे देशव्यापी जागरण अभियान सुरु गरेको छ। समाजमा ती प्रविधिहरूको अत्यधिक, अनावश्यक, अनियन्त्रित र अनुचित प्रयोगले नैतिक पतन र सामाजिक विकृति बढ्दै गएको निष्कर्षपछि उक्त अभियान सञ्चालन गरिएको सङ्घले जनाएको छ।

सङ्घका अनुसार कार्तिक २४ गतेदेखि २९ गतेसम्म देशभर सञ्चालन हुने यो अभियानले सामाजिक सञ्जाल, मोबाइल र इन्टरनेटको सकारात्मक प्रयोगका माध्यमबाट समाजमा सत्यता, इमानदारिता र मानवताको भावना प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। इस्लामी सङ्घका कोशी प्रदेश सदस्य इलियास फलाहीका अनुसार अभियानले सबै धर्म, आस्था, वर्ग र समुदायका नागरिकहरूलाई लक्षित गर्दै सञ्चालित छ।

फलाहीले भने, “मोबाइल र इन्टरनेटको सदुपयोग गर्न सकिएमा यसले ज्ञान, सिप र सदाचार फैलाउन ठूलो भूमिका खेल्छ। त्यसैले यो अभियानले मानिसहरूलाई सही प्रयोगतर्फ प्रेरित गर्नेछ।”

अभियानका क्रममा इस्लामी सङ्घले देशभर कोणसभा, प्रवचन, जागरण र्‍याली, चेतनामूलक कार्यक्रम, वाल लेखन र पम्पलेट वितरणजस्ता गतिविधि सञ्चालन गर्ने जनाएको छ। अभियानमार्फत समाजिक सञ्जाल र मोबाइलको माध्यमबाट अध्ययन, अनुसन्धान, सम्बन्ध सुदृढीकरण, समयको सदुपयोग, निर्लज्जता र अश्लीलता रोकथाम, तथा दुराचारमाथि नियन्त्रण गर्न सन्देश प्रवाह गरिनेछ।

सङ्घले विश्वास व्यक्त गरेको छ कि उक्त अभियानले समाजमा बढ्दै गइरहेका घरेलु विवाद, मानसिक तनाव, अध्ययन त्याग्ने प्रवृत्ति र आत्महत्याका घटनालाई न्यूनीकरण गर्दै सत्यता, शालीनता, पवित्रता र शुद्धतामुखी समाज निर्माणमा योगदान पुर्‍याउनेछ।

WhatsApp Image 2025-11-11 at 2.51.57 PM

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार