शान्ति पुनर्स्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार

मंगलबार, २५ कार्तिक २०८२

काठमाडौं । मानवबेचबिखन तथा ओसारपरसाविरुद्ध क्रियाशील संस्था शान्ति पुनर्स्थापना गृह बाँकेले एक वर्षको अवधिमा ३९९ महिला तथा बालबालिकाको उद्धार गरेको छ ।

बाँके जिल्लाका विभिन्न नाका र भारतबाट गरी गत आर्थिक वर्ष २०८१/८२ मा सो सङ्ख्यामा महिला तथा बालबालिकाको उद्धार गरिएको जिल्ला कार्यक्रम संयोजक सम्झना चदाराले जानकारी दिए ।

उनका अनुसार छ जनाको भारतबाट उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये ३०३ महिला तथा बालबालिकालाई संस्थाद्वारा अभिभावकलाई जिम्मा लगाइएको छ भने ९५ जनालाई प्रहरीको रोहवरमा अभिभावकलाई जिम्मा लगाइएको छ । एक जनालाई पुनर्स्थापनाका लागि अन्य संस्थामा पठाइएको छ ।

संस्थाले गत आर्थिक वर्षमा आठ जनाविरुद्ध मानवबेचबिखनको मुद्दा दर्ता गरेको छ । यो अवधिमा संस्थाले नौ हजार ३९४ जनालाई परामर्श दिएको शान्ति पुनर्स्थापना गृहका क्षेत्रीय संयोजक सञ्जित सिंहले जानकारी दिए ।

शान्ति पुनर्स्थापना गृहकी संस्थापक अध्यक्ष शान्ता सापकोटाले मानवबेचबिखन विरुद्धको अभियानमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । आफूहरुले सीमित जिल्लामा कार्यक्रम सञ्चालन गरेर अभियानमा थोरै सहयोग मात्रै गरेको उल्लेख गर्दै उनले मानवबेचबिखन विरुद्धको अभियानमा राज्य नै जिम्मेवार भएर लाग्न जरुरी भएको बताए ।

शान्ति पुनर्स्थापना गृहले बाँकेको विभिन्न पाँच स्थानमा आफ्नो सूचना तथा परामर्श केन्द्र स्थापना गरी मानवबेचबिखन विरुद्धको कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरीले राज्यले गर्नुपर्ने काम सामाजिक संघसंस्थाले गरेर मानवबेचबिखन तथा ओसारपसारविरुद्ध नागरिकलाई जागरुक बनाएको बताए । उनले मानवबेचबिखन तथा ओसारपसारविरुद्धको अभियानमा सरकारी निकाय, सामाजिक संघसंस्था र स्थानीय सरकारबिच समन्वयको खाँचो रहेको उल्लेख गर्दै आवश्यक सहकार्य र समन्वयका लागि आफू सदैव तत्पर रहेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार