इटहरी : कठ्याङ्ग्रिँदो जाडोमा न्यानो स्वेटर र टोपी पाउँदा इटहरी–११ स्थित भानु आधारभूत प्राविका बालबालिकाहरूको मुहारमा खुशीको लहर छाएको छ।
आज बिहानै विद्यालय प्राङ्गणमा पुगेर उत्साहका साथ स्वेटर ग्रहण गरेका ९ वर्षीय सक्षम अधिकारीजस्ता विद्यार्थीहरूले यो दिनलाई अविस्मरणीय बनाए। “मलाई आज स्कुल आउन निकै हतार भयो, किनकि स्वेटर पाउने थाहा थियो,” सक्षमले हाँस्दै भने। यस्तै, कक्षा ३ की कल्पना विक पनि जाडोबाट बच्ने यो उपहार पाएर दङ्ग देखिइन्।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘सी’ अन्तर्गतका चार क्लब—लायन्स क्लब अफ तरहरा इटहरी, ग्रीनसिटी, बिजनेस प्रोफेसनल र इटहरी एक्टिभ—ले संयुक्त रूपमा यो कार्यक्रम आयोजना गरेका थिए।
कुल १२५ बालबालिकालाई जाडोबाट जोगाउने स्वेटर र टोपी वितरण गरियो, जसले विद्यालयमा उत्सवको माहौल सिर्जना गरेको थियो। कार्यक्रमलाई थप विशेष बनाउँदै, लायन्सको ‘हंगर प्रोग्राम’ अन्तर्गत फलफूल, खानेकुरा र खाजा पनि वितरण गरियो।
_MBKbNHelgc.jpg)
_DP9RNnODyS.jpg)
_7bqiI5nkzm.jpg)
_p1Sk8s5H04.jpg)
_2nMHwTFYGq.jpg)
_yXhGAMhJj6.jpg)

_iQmiw2W8Kf.jpg)

_bP59TETWWO.jpg)
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘सी’ का एडमिनिस्ट्रेटिभ चिफ लोकेन्द्र ढकालले भने, “लायन्स क्लब सधैँ सेवाभावनामा समर्पित छ। यस्ता कार्यक्रममार्फत समाजका कमजोर वर्गलाई सहयोग गर्दै हामी अघि बढिरहन्छौँ।”
यस्तै, एरिया को–अर्डिनेटर टङ्क फुयाँल, इटहरी ग्रीनसिटीकी अध्यक्ष शान्ता थापा, तरहरा इटहरीका अध्यक्ष पवन अधिकारी र इटहरी एक्टिभका अध्यक्ष बलबहादुर न्यौपानेले पनि लायन्सको सेवामूलक भूमिकामा जोड दिए।
उनीहरूले भविष्यमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
विद्यालयका प्रधानाध्यापक तारिकचन्द विश्वास, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठकनलाल चौधरी र इटहरी–११ का कार्यवाहक वडाध्यक्ष भेदुलाल विश्वाससहित शिक्षक–शिक्षिका र स्थानीयको उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।
चौधरीले विद्यालयको अवस्थाबारे बोल्दै भने, “इटहरीमा भए पनि यो विद्यालय अत्यन्त विकट अवस्थामा छ। स्थानीय पालिका र प्रदेश सरकारको पर्याप्त ध्यान नपुग्दा भौतिक पूर्वाधार निकै कमजोर छ।”
२०४४ सालमा स्थापना भएको यो विद्यालयले वर्षौँदेखि विकासको अभाव झेलिरहेको छ। कार्यवाहक वडाध्यक्ष विश्वासले भने, “समाजका सबै व्यक्ति र संस्थाहरू मिलेर यस विद्यालयको स्तर उकास्नुपर्छ।”
प्रतिक्रिया