सुनसरी दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

सोमबार, २६ साउन २०८२

विराटनगर । सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा भएको भीषण सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। यात्रुवाहक बस र विङ्गर माइक्रो ठोक्किँदा सोमबार बिहान ७ः१५ बजेतिर दुर्घटनामा परेर ५ जनाले ज्यान गुमाएका हुन्।

यात्रुवाहक बस र विङ्गर माइक्रो ठोक्किएर सोमबार बिहान ७ः१५ बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा परेर सप्तरी मधावेका अन्दाजी ३५ वर्षीय शंकर मण्डल, सप्तरी तिरहुतकी ६० वर्षीय अनारवतीदेवी यादव, सप्तरी गोईठीका ६८ वर्षीय जिवछ महात्मा, सुनसरीको कोशी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा र विराटनगर महानगरपालिका–१० का ४० वर्षीय अशोक यादवको मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । 

उनका अनुसार शंकर, लक्ष्मण र अशोकको ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहामा मृत्यु भएको हो । अनारवतीको जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो । ४ जनालाई दुर्घटनामा परेको केहीबेरमै चिकित्सकले मृत घोषित गरेका हुन् । जिवछको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा दिउँसो २ः२० बजेतिर मृत्यु भएको डीएसपी खतिवडाले बताए । 

दुर्घटनामा परेर २८ जना घाइते भएका थिए । घाइतेमध्ये ५ जनाको मृत्यु भएको हो । २३ जना उपचाररत रहेकोमा ३ जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् । २० जना घाइतेको ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहा र विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरु सबैको पहिचान भइसकेको छ । दुर्घटनामा परेर मृत्यु हुने सबै जना विङ्गर माइक्रोमा सवार थिए । डीएसपी खतिवडाका अनुसार २ जना घाइतेबाहेक अरु सबै घाइते विङ्गर माइक्रोमै सवार थिए । दुर्घटनामा परेर बसमा सवार रहेकामध्ये २ जना सामान्य घाइते भएको र उनीहरु उपचारपछि डिस्चार्ज भइसकेको उनले बताए । 

झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र सप्तरीबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गर माइक्रो एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसका चालक झापाको अर्जुनधारा नगरपालिका–१ का ३६ वर्षीय गोपाल अधिकारीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

यो पनि : सुनसरी दुर्घटना अपडेट : मृतक र घाइते २७ जनाको पहिचान खुल्यो (नामावलीसहित)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार