एमालेमा आन्तरिक द्वन्द्व चर्कियो, ओलीको एजेन्डा विरुद्ध सचिवालयमा गुटबन्दी

शुक्रबार, २४ असोज २०८२

काठमाडौँ । प्रतिनिधि सभा पुनःस्थापनाको एजेन्डा लिएर एमाले अध्यक्ष केपी शर्मा ओली अघि बढेपछि पार्टीभित्र फेरि एकपटक गम्भीर मतभेद देखिएको छ । ओलीले संसद् पुनःस्थापनाको प्रस्ताव सार्वजनिक रूपमा उठाएसँगै सचिवालयभित्र दुई धार स्पष्ट बनेका छन्— ओली पक्ष संसद् पुनःस्थापनाको पक्षमा दृढ रहेको छ भने संस्थापन इतर समूह चुनावको पक्षमा उभिएको छ ।

ओली निवास गुण्डुमा आजदेखि सुरु भएको एमालेको ५८ औँ सचिवालय बैठकमा ओलीले संसद् पुनःस्थापनाको एजेन्डा प्रस्तुत गर्ने तयारी गरेका छन् । भोलिसम्म चल्ने बैठकमा उक्त प्रस्ताव पारित गराउने ओलीको प्रयास हुने बताइन्छ । तर सचिवालयभित्र बहुमत सदस्यहरू उक्त एजेन्डाको विरोधमा रहेको बुझिएको छ ।

स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्ट लगायत नेताहरू चुनावमार्फत जनादेशमा जाने पक्षमा छन् । उनीहरूका अनुसार संसद् पुनःस्थापनाको एजेन्डा असान्दर्भिक भइसकेको छ र मुलुकलाई स्थायित्वमा लैजान अब निर्वाचन नै एकमात्र बाटो हो । यदि सचिवालयमा बहुमत ओली पक्षले ल्याउन सकेन भने उनीहरूले ‘नोट अफ डिसेन्ट’ लेख्ने रणनीति तयार पारेका छन् ।

उता, ओलीको पक्षमा उपाध्यक्ष गुरु बराल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव पद्मा अर्याल र विष्णु रिमाल रहेका छन् । यी नेताहरू ओलीको संसद् पुनःस्थापनाको प्रस्तावलाई समर्थन गर्दै मुलुकलाई पुनः संवैधानिक बाटोमा फर्काउने आवश्यकताको पक्षमा तर्क गर्दै आएका छन् ।

यस्तै सचिवालय बैठकमा पार्टी पुनर्गठनको विषय पनि जोडका साथ उठ्ने संकेत छ । केही नेताहरूले ओलीलाई ‘स्टेप डाउन’ गर्न माग गर्ने तयारी गरेको बताइएको छ । उपाध्यक्ष विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट लगायत नेताहरूले ओलीको नेतृत्वमा पार्टी अगाडि बढ्न नसक्ने तर्क अघि सार्ने सम्भावना छ ।

बैठकको पूर्वसन्ध्यामा भक्तपुर गुण्डुस्थित निवासअगाडि आयोजित कार्यक्रममा ओलीले संसद् पुनःस्थापनाको माग राख्दै देशलाई प्रणालीमा फर्काउने अर्को विकल्प नभएको बताएका थिए । उनले नेपाली कांग्रेससहित अन्य दलहरू पनि यही बाटोमा आउनुपर्ने बताउँदै आफ्नो अडान स्पष्ट पारेका थिए ।

पार्टीभित्र पुनर्गठनको माग बलियो बन्दै गएको र नेतृत्व परिवर्तनको आवाज उठ्न थालेसँगै ओलीले मंसिरभित्रै महाधिवेशन गर्ने मनसाय राखेको बुझिएको छ । अघिल्लो बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले पनि केन्द्रीय समितिले महाधिवेशनको मिति तोक्ने संकेत दिएका थिए ।

सचिवालय बैठकमा ओलीको संसद् पुनःस्थापनाको प्रस्ताव पारित हुने वा अस्वीकार हुने भन्ने प्रश्नले अहिले एमालेभित्रको आन्तरिक शक्ति सन्तुलनको परीक्षा लिने अवस्था सिर्जना भएको छ । पार्टीभित्रको यो द्वन्द्वले एमालेको आगामी राजनीतिक दिशा र नेतृत्वको भविष्य दुवै निर्धारण गर्ने देखिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार