राजेश पोर्तेल : बैशाखी टेकेर न्यायको बाटो हिँडेका एक जेनजी

बुधबार, २४ मंसिर २०८२

काठमाडौं । इलामको सूर्योदय नगरपालिका–१० का स्थायी बासिन्दा राजेश पोर्तेल झापाको विर्तामोडमा व्यवसाय गर्छन् । केही समय अघिसम्म सुनचाँदी व्यवसायमा व्यस्त थिए । तर हिजोआज उनी फरक काममा व्यस्त छन् । राजनीतिमार्फत समाज परिवर्तनको अभियानमा छन् ।
गत भाद्र २३ र २४ गते देशभर जेनजी आन्दोलन भयो,जहाँ धेरैले ज्यान गुमाए, धेरै अंगभंग भए र अझै केही व्यक्ति अस्पतालको वेडमा छटपटाइरहेका छन् ।

भदौ २३ गतेको जेनजी आन्दोलनबारे जानकार भएपनि राजेश सहभागी भएनन् । तर सोही दिन सरकारी दमनबाट स्कूले ड्रेसमा आन्दोलनमा आएका युवा गोलीको शिकार भए । दुई दर्जन आन्दोलनकारीको ज्यान गयो । सोही दिनको घट्नापछि आक्रोशित बनेका राजेश २४ गतेको आन्दोलनमा सहभागी भए तर विर्तामोडको प्रदर्शनमा उनको खुट्टा गुम्यो ।

व्यवसायमा नै व्यस्त रहेतापनि हिंसात्मक गतिविधिले २४ गते घरमै बसेर टुलुटुलु हेर्न उनको मनले मानेन् । अन्तत उनी २४ गतेको आन्दोलनमा होमिन पुगे । विडम्बना त्यो आन्दोलनमा उनले आफ्नो दायाँ खुट्टा नै गुमाउनु पर्यो ।

नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै उनी भन्छन्,‘भदौ २३ गतेको आन्दोलनमा चाँही म समावेश भएको थिइनँ तर देशमा बढेको भ्रष्टाचार र वेरोजगारीप्रति जानकार थिए । ३५ वर्ष शासन सत्ता चलाउँदा पनि परिवर्तन नआएको हामीले भोगिरहेकै थियौं । जसको फलस्वरुप जेनजी आन्दोलन हुनु अस्वभाविक थिएन्,’उनले भने, ‘त्यो शान्तिपूर्ण आन्दोलनमा विद्यार्थी ड्रेसमा मारिए । हजारौँ घाइते भएको पनि प्रत्यक्ष देखिरहेको थिएँ । त्यस्तो क्रूर व्यवहार गर्नु र गोली हान्न निर्दयीपन थियो । त्यसकै विरुद्ध म भदौ २४ गते आन्दोलनमा सहभागी भएको थिए ।’
आन्दोलनकै क्रममा झापा विर्तामोडको ट्राफिक कार्यालय अगाडि विस्फोट हुँदा उनको खुट्टा घट्ना स्थलमा नै चुडिएको थियो ।

उनी बीएनसी अस्पतालमा करिब १५ दिन उपचारपछि घर फर्किएका थिए । घ्टनापछि राजेश एउटा बन्द कोठामा सिमित हुँदै जीवनभर शारीरिक अशक्त भएर बैशाखीको सहायतमा सिमित छन् ।

आफ्नो खुट्टा गुमाउनुपर्दाको त्यो तितो पललाई अमिलो मनकासाथ सम्झिँदै उनी भन्छन्,‘आन्दोलन शान्तिपूर्ण नै थियो । यहाँ(काठमाडौं)मा जस्तो हुलदंगा थिएन । भीड चाहीं बढ्दो थियो। त्यही क्रममा अचानक गोली चल्यो । म पछाडिको दाइ ढल्नुभयो । सोही क्रममा भागदौड मच्चियो । भाग्दै गर्दा गोली लागेर दुई–तीनजना ढलिसकेपछि म पनि भाग्दै र दौडिदै थिए । जताततै आगजनी र तोडफोड भइरहेको बेला केही वस्तु विस्फोट भयो र मेरो खुट्टा मैदानमै चुडियो,’ उनले अगाडि भने,‘त्यसबेला म अचेत भएछु । अस्पताल पुगेर होस आएपछि मात्र खुट्टा गुमेको थाहा पाएँ ।’
जवानीमै गरिखाने खुट्टा गुमाएका राजेशले हालसम्म सरकारी सहयोग वा राहत पाएका छैनन् । अप्रेसन दुर्गा प्रसाँईले निःशुल्क गराइदिएका थिए । त्यसपश्चातको खर्चहरु सहयोग उठाएर नै गरेको उनले जानकारी दिए ।

अन्तरिम सरकार जेनजीको होइन रहेछ
आफ्नो खुट्टा गुमाउनुको पीडा राजेशसँग जति छ त्यो भन्दा दोब्बर गुनासो जेनजीकै सरकारप्रति छ । ‘यतिबेला मलाई मेरो जीवनसँग त्यति गुनासो छैन् । नावालिका छोरी र श्रीमतीको पालन पोषणको समस्या त छ तर सबैभन्दा धेरै गुनासो र आक्रोश अन्तरिम सरकारसँग छ । जेनजीका अुगुवाहरुको गतिविधिप्रति पटक्कै चित्त बुझेको छैन् । जेनजीका माग अनुसारका कुनै पनि निर्णय हुन सकेको छैन्,’ राजेशले अगाडि भने,‘ जुन हाम्रा मागहरु थिए, त्यो मागहरुलाई उहाँहरुले सम्बोधन गर्नै सक्नुभएन् । जति आशा थियो त्यो अनुसारको काम नै भएन् । अगुवाहरुको भूमिका राम्रो भएन् । न हामीलाई समेटेर लानुभयो न त माग नै सम्बोधन गर्नुभयो ।’

अनि जन्मियो राष्ट्रिय परिवर्तन पार्टी
राजेश पोर्तेलले वर्तमान अन्तरिम सरकारले जेनजी आन्दोलनका घाइते र शहीद परिवारको माग सम्बोधन गर्न नसकेको भन्दै आफू राजनीतिमा सक्रिय भएको बताए ।

पोर्तेलको नेतृत्वमा ‘राष्ट्रिय परिवर्तन पार्टी’ निर्वाचन आयोगमा दर्ता भई उनकै नेतृत्वमा संगठन विस्तारको काम अगाडि बढेको छ । जेनजी साथै आम नेपालीहरुका मागपूरा गर्न आफूहरुले राजनीतिक दल स्थापना गरेको उनी बताउँछन् ।
‘हिजोको आन्दोलन किन जरुरी थियो, केका लागि थियो, त्यसको मर्म के थियो भनेर कसैले बुझेन । आन्दोलन त्यत्तिकै निस्केको होइन । हजारौं जनताहरु सडकमा के विरुद्ध किन आएको थिएभने परिवर्तनका लागि थिए । तर जेनजीकै आन्दोलनबाट निर्माण भएको सरकार आन्दोलनकारीहरुका लागि रहेन् । त्यसैले हामीले राजनीतिक दल खोल्न बाध्य भयौं,’ उनले अगाडि भने,‘अहिले हामीले पार्टी खोल्नु, दल दर्ता गर्नुको कारण पनि परिवर्तनका लागि हो । बढ्दो भ्रष्टाचार, नातावादविरुद्ध हो ।’

उनको अनुसार पार्टीको मुख्य एजेण्डा भनेको नै जेनजी पुस्ताको मागहरु पूरा गर्नु हो । ‘हाम्रा एजेन्डाहरु भनेको जुन जेनजी पुस्ताले मागहरु राखेका थिए, त्यो पूरा गर्नका लागि हो । जेनजीले बनाएको सरकारले उल्टै जेनजीलाई धरपकड एवम पक्राउ गर्न थाल्यो । दोषीहरुलाई खुलेआम छाडिदियो । घाइते र शहीदहरुलाई न्याय दिन्छ भन्ने आशा नै निराशामा बद्लिदियो । त्यसैले हामी आम नेपालीहरुको न्यायका लागि दल दर्ता गरेर राजनीतिमा आएका हौं,’ उनले भने ।

घाइते शरीर लिएर भएपनि अब न्यायका लागि चुनावमा लड्ने घोषणा पनि उनले गरे । उनका अनुसार आउँदो मंसिर २७ गते झापाको दमकमा एक बृहत आम भेला गरेर आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गर्ने पनि बताए ।

संगठन विस्तारको योजना
राष्ट्रिय परिवर्तन पार्टीले देशभर संगठन विस्तारलाई तिब्र बनाएको पनि उनले बताए । शून्य भ्रष्टाचार, इमान्दार राजनीति, पारदर्शी व्यवहारका लागि युवाहरुको साथ लिएर संगठन विस्तारको काम अघि बढेको उनले जानकारी दिए ।
‘यतिबेला हामी संगठन विस्तारको प्रारम्भिक चरणमा छौं । नयाँ साथीहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएर काम गर्ने सोचमा छौं । यही मंसिर २७ गतेका दिन दमकको आदीवासी रंगशालामा एउटा बृहत आम भेला गर्ने निर्णय गरेका छौं । सोही दिनबाट हामी देशव्यापी अभियानमा हुनेछौं,’ उनले भावी योजना सुनाए ।

राष्ट्रिय परिवर्तन पार्टीसँग जेनजी युनाइटेडदेखि लिएर विभिन्न समूहरु जोडिनेक्रमा रहेको सुनाउँदै उनले पूर्व–पश्चिम संगठन विस्तारका लागि सयौं व्यक्तिहरुसँग संवाद भइरहेको उनले बताए । घाइते शरीर लिएरै संगठन विस्तारमा घर घरमा पुग्ने उनले प्रतिवद्धता जनाए ।
‘हामी अब कसैलाई भरोसा गर्नेवाला छैनौं, आफ्ना मागहरु आफैं पूरा गर्न चाहन्छौं । चुनावमा भाग लिन्छौं र सरकारमा प्रतिनिधित्व गरेर जनताका मागहरु पूरा गर्नेछौं,’ उनले भने ।

पूराना पार्टीहरुलाई अपमान गर्दैनौं
हुनत पूराना भनिएका पार्टीहरुले जति गर्नुपर्ने थियो गर्न नसकेको उनको बुझाइ छ । ‘काम नै गरेनन् भनेर त भन्दैनौं । जिरो योगदान थियो भनेर भन्न सकिदैन । केही काममा परिवर्तन अवश्व ल्याउनुभएको हो । तर प्रबृत्ति र व्यवहार सच्याउन सक्नु भएन । सबै नराम्रो मात्रै भन्न मिल्दैन । तर यत्रो वर्षमा गरेको परिवर्तन चित्तबुझ्दो भएन,’ उनले अगाडि भने,‘विश्वका सयौं देशहरु कहाँ पुगिसके । विकासको फड्को मारेर कति अगाडि पुगिसके । अहिले हाम्रो देशको अवस्था हेर्नुभयो भने तुइन तरेर विद्यालय जानुपरिरहेको छ ।’

उनले आफू हाल पार्टी अध्यक्ष भएपनि निकट भविष्यमै युवा पुस्तालाई पद हस्तान्तरण गर्न तयार रहेको बताए । ‘म शरीरको यस्तो अवस्था लिएर किन हिडिरहेको छु भने युवाहरुलाई प्रोत्साहित गर्नलाई हो । युवाहरुलाई राजनीतिमा आकर्षित गर्न र देशको नेतृत्व युवा पुस्ताको काँधमा होस भन्नका लागि हो । सँगसँगै अघि बढौं र देश परिवर्तन गरौं भन्नका लागि हो ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार