सरकारले सुरक्षाकर्मी फिर्ता बोलाएपछि आफ्नै सेनाको घेरामा प्रचण्ड

शुक्रबार, २४ असोज २०८२
तस्बिर : फाइल

काठमाडौं  : सरकारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरूको सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेकोमा माओवादी केन्द्रका नेता तथा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ आक्रोशित भएका छन् ।

गृह मन्त्रालयले मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखिएका पूर्वपदाधिकारीहरूको सुरक्षा तत्काल फिर्ता बोलाउने निर्णय गरेको थियो ।

यसबारे समाचार बाहिरिएपछि दीपशिखाले सामाजिक सञ्जालमा प्रचण्ड लगायत माओवादी नेताहरूको सुरक्षा पूर्वपीएलए र वाईसीएलले गरिरहेको र गर्दै जाने बताएका छन् ।

उनले चेतावनी दिए– “ढिलोचाँडो बदलाभावको सत्ता डण्डा केपी ओली जस्तै हुनेछ ।”

खबर अनुसार प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता हुने क्रम जारी छ ।

गृह प्रशासनका अनुसार पूर्वप्रधानमन्त्रीको हैसियतमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका कमाण्डरसहित सीमित सुरक्षा मात्रै राख्न पाइन्छ ।

भदौ २३–२४ गते जेनजी विद्रोहको बेला सिंहदरबार, संसद् भवन र अन्य सरकारीरराजनीतिक कार्यालयमा आगजनी भएपछि प्रचण्ड उच्च सुरक्षा घेरामा थिए ।

दीपशिखाका अनुसार भदौ २४ मात्र प्रचण्ड राज्यको सुरक्षा घेरामा बसेका थिएस बाँकी समय पूर्वपीएलए र वाईसीएलले सुरक्षा व्यवस्था गर्दै आएको छ ।

हाल प्रचण्ड ललितपुर, सातदोबाटो–खुमलटार क्षेत्रमा बस्दै आएका छन् ।

वाईसीएल अध्यक्ष पुष्प ओलीका अनुसार भित्री सुरक्षा दीपशिखाले व्यवस्थापन गर्छन् भने बाहिरी सुरक्षा वाईसीएलले व्यवस्थित गर्छ ।

काठमाडौं उपत्यका र अन्य जिल्लामा पनि वाईसीएल लडाकुहरू सुरक्षा सुनिश्चितमा खटिएका छन् ।

 प्रचण्डको सुरक्षा पूर्वपीएलए र वाईसीएलको जिम्मामा रहेको र सरकारले मापदण्डअनुसार फिर्ता गर्ने निर्णय भए पनि माओवादी नेताहरूले यसलाई पूर्वाग्रहमूलक नबनाउन सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार