काठमाडौँ : नेपालका कम्युनिस्ट तथा वामपन्थी दलबिच पार्टी एकताको बहस लामो समयदेखि चल्दै आएको भए पनि कार्यान्वयनको चरणमा पुग्न सकेको छैन।
कम्युनिस्ट र वाम एकतामार्फत समाजवादको बाटो तय गर्ने उद्देश्य राखेका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (विप्लव समूह) र नेसपा (नेपाल समाजवादी पार्टी) बिच हुने भनिएको पार्टी एकताको विषय अझै मूर्तरूप लिन सकेको छैन।
विचार र सिद्धान्त मिल्ने दलबिच एकता गरेर अघि बढ्ने निर्णय गरेपछि औपचारिक छलफल सुरु भए पनि पछिल्लो समय यो विषय पुनः ओझेलमा परेको नेताहरू बताउँछन्।
भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ पछि विकसित राजनीतिक घटनाक्रमले पुराना दलहरूमा रूपान्तरण र एकताका लागि थप दबाब सिर्जना गरेको छ। राजनीतिमा उदाउँदै गरेका नयाँ शक्ति र ‘जेनजी मुभमेन्ट’ बाट आएकाहरू पुराना दलका लागि चुनौती बनेका छन्। तर वामदलबीच भएको एकता गृहकार्यले अहिलेसम्म ठोस परिणाम निकाल्न सकेको छैन।
देशभक्त र वामपन्थी दलबिच सहकार्य तथा एकताबारे छलफल भए पनि हालसम्म कुनै निष्कर्षमा नपुगेको माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले बताए। उनले भने, ‘पार्टी एकताका लागि को–को तयार छन् र ती दलबिच कसरी एकता प्रक्रियालाई टुङ्ग्याउने भन्ने विषयमा निष्कर्षमा पुगिएको छैन। वार्ता परिणामदायी गतिमा अघि बढेको छैन।’
माओवादी केन्द्रले विचार मिल्ने दल वा समूहबिच सहकार्य र पार्टी एकता गर्ने विषय पटक पटक उठाए पनि त्यो चर्चामै सीमित रहँदै आएको छ।
गत साउन १९ गते सम्पन्न माओवादी स्थायी समिति बैठकले नेकपालगायत अन्य कम्युनिस्ट पार्टीहरूसँग एकता गर्ने निर्णय गरेको थियो। डेढ वर्षअघि नै वार्ता समिति बनाएर अघि बढेको माओवादी पछिल्लो पटक नेकपा (विप्लव) समूहसँग एकताको अन्तिम चरणमा पुगेको थियो। तर, त्यो प्रयास पनि सफल हुन नसकेर संवादहीनतामा टुङ्गिएको थियो।
‘जेनजी आन्दोलन’ पछि कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाउन एकताको विकल्प नभएको निष्कर्षसहित माओवादी, नेकपा (एकीकृत समाजवादी) र नेकपा (विप्लव)बिचको छलफल केही अघि बढे पनि हाल यो विषय फेरि सुस्त भएको छ।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले आफ्नो नीति, विचार, सिद्धान्त, कार्यक्रम र कार्यदिशासँग सहमत हुने वामपन्थी, कम्युनिस्ट तथा समाजवादी दल र समूहहरूसँग एकता गर्न तथा अन्यसँग सहकार्य गर्न पहल गर्ने निर्णय गरेको छ।
एकीकृत समाजवादी र नेकपा (विप्लव) दुवैले पार्टी एकताको विषयमा औपचारिक निर्णय गरिसकेका छन्। भदौ ३ गते बसेको समाजवादीको केन्द्रीय सचिवालय बैठकले सम्पूर्ण कम्युनिस्ट, वामपन्थी तथा समाजवादी शक्तिलाई एकताबद्ध भएर अघि बढ्न अपिल गरेको थियो। त्यसयता नेताहरूबिच बाक्लो छलफल भए पनि निर्णयमा पुग्न नसकेको समाजवादीका वार्ता समिति संयोजक डा. बेदुराम भुसालले बताए।
उनका अनुसार, ‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा वामपन्थी शक्ति गम्भीर हुनु जरुरी छ। यस्तो चुनौतीपूर्ण अवस्थामा राष्ट्रिय स्वाधीनता र जनक्रान्तिका उपलब्धि जोगाउन सबै वामपन्थी दल एकताबद्ध हुनुपर्छ।’
यसैगरी, नेकपा (विप्लव)ले पनि पार्टी एकता गर्ने निर्णय गर्दै तीन सदस्यीय वार्ता समिति गठन गरेको छ। भदौ २३ देखि २६ सम्म कपिलवस्तुमा बसेको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रलगायत विभिन्न कम्युनिस्ट पार्टीसँग एकता र ध्रुवीकरणका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा समिति गठन गरेको हो। विश्वकर्माका अनुसार, ‘हामी सबै कम्युनिस्ट तथा वामपन्थी दलहरूसँग एकताका लागि छलफलमै छौँ, तर अहिले नै मापदण्ड तय भएको छैन।’
यसअघि समाजवादी मोर्चाका घटक दलबिच पनि पार्टी एकताको विषयमा पटक–पटक छलफल हुँदै आएको छ। उक्त मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेसपा रहेका छन्। नेसपा अध्यक्ष यादवले पनि मोर्चाका घटकबिच एकताबारे छलफल भइरहेको बताए।
तर, नेताहरूका अनुसार हालैका छलफलले तत्काल एकता हुने अवस्था देखिँदैन। नेकपा (एस) का उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले भने, ‘मुख्य कुरा एकता हुन्छ कि हुँदैन भन्ने हो। यदि एकता हुने भए त्यसको स्वरूप कस्तो हुने भन्ने छलफल पछि हुनेछ। अहिले हामी त्यस विषयमा औपचारिक छलफल गरिरहेका छैनौँ।’
प्रतिक्रिया