इलाम । असोज १८ गतेदेखि निरन्तर परेको वर्षापछि आएको पहिरोले इलाम जिल्लाको विभिन्न स्थानीय तहमा व्यापक क्षति पुर्याएको छ ।
हालसम्म संकलन गरिएको तथ्यांकअनुसार ६ वटा स्थानीय तहमा मात्रै ९ सय १९ वटा घरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । तीमध्ये २ सय ४३ वटा घर पूर्ण रूपमा भत्किएका वा पुरिएका छन् भने ६ सय ७३ वटा घरमा आंशिक क्षति पुगेको छ ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार सुर्योदय, इलाम, माइ, देउमाइ नगरपालिकासँगै फाकफोकथुम गाउँपालिकामा यो क्षति भएको हो । तर सन्दकपुर, माङसेवुङ, रोङ र चुलाचुली गाउँपालिकाको तथ्यांक संकलन अझै जारी छ ।
अप्ठ्यारो भौगोलिक अवस्था र भत्किएका सडकका कारण सम्पूर्ण विवरण संकलनमा ढिलाइ भएको स्थानीय तहहरूले जनाएका छन् ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार बाढी र पहिरोका कारण हालसम्म ७ सय १८ जना नागरिक प्रत्यक्ष प्रभावित भएका छन् । तीमध्ये ११ जनालाई सामुदायिक भवनमा राखिएको छ भने ३ सय ८९ जना आफन्त वा छिमेकीको घरमा बसिरहेका छन् । बाँकी पीडितहरू आंशिक क्षति भएका घर वा पाल टाँगेर आफ्नै जग्गामा बसोबास गर्दै आएका छन् ।
पहिरोले इलाम नगरपालिकामा सबैभन्दा बढी २ सय ६३ वटा घरमा क्षति पु¥याएको छ । त्यस्तै सुर्योदयमा १ सय ९४, देउमाइमा १ सय ११, माइमा ७६ र फाकफोकथुममा २० घरमा क्षति पुगेको जनाइएको छ ।
विपत्तिबाट ज्यान गुमाउनेको संख्या पनि उच्च रहेको छ । पहिरोले इलाममा ३९ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् र १३ जना घाइते भएका छन् । मृतकहरूमा १८ पुरुष र २१ महिला रहेका छन् ।
मृतक मध्ये माइ र देउमाइ नगरपालिकामा ८–८ जना, इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकामा ७–७ जना, माङसेवुङमा ३, सुर्योदयमा ५ र फाकफोकथुममा १ जनाको ज्यान गएको प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै, पहिरोका कारण मेची राजमार्गको राजदुवाली खण्डसहित करिब तीन दर्जन ग्रामीण सडक अझै सञ्चालनमा आउन नसकेका कारण उद्धार र राहत कार्यमा कठिनाइ भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।
प्रतिक्रिया