काँग्रेसमा नेतृत्व हस्तान्तरण: कार्यवाहक सभापतिको जिम्मा दिने तयारीमा देउवा

सोमबार, २७ असोज २०८२

काठमाडौँ : गत भदौ २३ र २४ को जेन—जी आन्दोलनपश्चात् यतिबेला नेपालको सबैभन्दा पुरानो अर्थात् आठ दशक लामो इतिहास बोकेको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस करिब अभिभावकविहीन जस्तै बन्न पुगेको छ।

२४ गतेको आन्दोलनमा आन्दोलनकारीबाट गम्भीर घाइते भएपछि पार्टी सभापति शेरबहादुर देउवा करिब एक महिनासम्म उपचारमा रहे। करिब एक महिनासम्म त उनी कहाँ थिए कुन अवस्थामा थिए भन्ने परिवारबाहेक बाहिरका व्यक्तिलाई थाहा थिएन।

पछिल्लो एक सातायता भने उनी काँग्रेसका केही नेताहरूसँग निरन्तर छलफलमै बसेका छन्। उनै देउवाको आह्वानमा मङ्गलवार केन्द्रीय कमिटी बैठक बोलाइएको छ। उक्त बैठकमा स्वास्थ्य अवस्थाले साथ दिएसम्म देउवा आफैँ उपस्थित भएर सम्बोधन गर्न चाहिरहेको पारिवारिक स्रोतले बताएको छ।

बैठक आइतबारै बोलाइएको थियो। पदाधिकारीहरूले केन्द्रीय बैठकको तयारी पूरा नभएको भन्दै दुई दिन समय पछाडि सारिएको छ। अब काँग्रेसमा पार्टी सभापतिले के गर्छन् ? के भन्छन् ? र उनले सहजै पद छोड्लान् त ?

जस्ता विषय चर्चामा छन्। अबको करिब दुई महिनामा देउवाको कार्यकाल स्वतः समापन हुँदैछ। विशेष परिस्थितिमा मात्र एक वर्ष थपिने हो। अब देउवा आफैँ पनि पदमा बसिरहन चाहँदैनन्। देउवाले गत वर्षदेखि नै आफूले राजनीतिमा अब अवकाश लिने बेला भएको बताउँदै आएका थिए। यति हो कि परिस्थितिले नेतृत्व हस्तान्तरणको ‘डेडलाइन’ अलि अगाडि सारिदिएको छ।

एक व्यक्ति दुई कार्यकाल सभापति हुन पाउने विधानको व्यवस्था काँग्रेसमा छ। सोहीबमोजिम देउवा १३औँ र १४औँ महाधिवेशनबाट सभापति बनेका हुन्।

यो अवस्थामा देउवा नजिकका कांग्रेस नेता भने देउवा कार्यवाहक दिने मुडमा रहेको बुझिएको बताउँछन्। कार्यवाहक नै दिने सन्दर्भमा भने देउवाले आफू निकट र विश्वासपात्र नेता पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई दिने मनस्थितिमा रहेको देखिन्छ।

कार्यवाहक नेतृत्वले अब बस्ने केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तोक्छ। यही पदावधिबिचको केही समय कार्यवाहकले जिम्मेवारी लिने हो। सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने, नेतृत्वले कार्यवाहकको जिम्मेवारी आफ्नो विश्वासपात्रलाई दिने चलन छ।

काँग्रेसमा सुशील कोइरालाको निधनपछि रामचन्द्र पौडेलले कार्यवाहक पाएको अवस्थाबाहेक अन्य समयमा कार्यवाहकको जिम्मेवारी तात्कालिक नेतृत्वका विश्वासपात्र र परिस्थिति सम्हाल्न सक्ने नेताले मात्र प्राप्त गर्दै आएका छन्। उपसभापति खड्काको हकमा भने नेपाली कांग्रेस २०५९ मा पार्टी विभाजन भएपछि निरन्तर देउवाको साथ दिँदै आएका एक विश्वासिला सारथि पनि मानिन्छन्।

जेन–जीको विद्रोहपछि विकसित राजनीतिक परिदृश्यमा २८ भदौ र ३ असोजमा भएको काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि देउवाको अनुपस्थितिमा उपसभापति खड्काले नै सञ्चालन गरे। बिहीबारदेखि बसेको कांग्रेस पदाधिकारी बैठकको अध्यक्षता पनि 
खड्काले नै गरे।

गत २३ र २४ भदौको जेन–जी विद्रोहले पुराना दलको नेतृत्वमा नयाँ अनुहारको अपरिहार्य बोध गराएपछि दोस्रो कार्यकालको अन्तिम समयमा आइपुग्दा देउवालाई सिङ्गो कांग्रेस कार्यकर्ता समक्ष एउटा चुनौती आएको देउवा निकट एक नेता बताउँछन्। उनी भन्छन्, ‘सभापतिजीलाई कार्यकालको अन्तिम समयमा एउटा चुनौती भनेको समयमा यदि सकिन्छ भने आफ्नै नेतृत्वमा नियमित महाधिवेशन गर्ने र अर्को भनेको पार्टीमा सबैले पत्याउन सक्ने र विश्वासिलो साझा व्यक्तिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर आफू आराम गर्ने।’

देउवाले केन्द्रीय समितिकै बैठकमा उपसभापति खड्कालाई कार्यवाहक दिएर आफू आराम गर्ने विचारमा रहेका नेताहरूको विश्लेषण छ। किनभने कार्यवाहक दिने अधिकार सभापतिलाई मात्र छ। उक्त अधिकार दिन केन्द्रीय समितिको बैठकले निर्णय गर्नु पर्दैन।

जेन–जी विद्रोहले गराएको नेतृत्व परिवर्तनको बोध, सभापति देउवाको बढ्दो उमेर र स्वास्थ्य अवस्था, पार्टीभित्र उनीविरुद्ध भएको मोर्चाबन्दीहरू, यी सबै प्रतिकूलताले देउवालाई नेतृत्व निरन्तरता दिन कठिन भएको कांग्रेस इतर समूहका एक नेता बताउँछन्। यद्यपि उपसभापति खड्का र देउवा निकट नेताहरूले भने महाधिवेशनसम्मै नेतृत्व गर्न आग्रह गरिरहेका छन्।

उपसभापति खड्काले भने अहिले सभापतिकै भूमिका निभाइरहेका छन्। उनले पछिल्ला दिनमा पार्टीका सबै पक्षका नेताहरूसँग पनि छुट्टाछुट्टै भेट गरिरहेका छन्। २८ भदौको बैठकमा प्रदेश सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरू आमन्त्रित थिए। खड्काले बैठकमा शेखर कोइरालालाई पनि बोलाएका थिए।

उनी कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, प्रकाशशरण महत, विमलेन्द्र निधिलगायत नेतासँग पनि निरन्तर छलफलमै छन्। पार्टीमा नियमित महाधिवेशन गर्न नसके विशेष महाधिवेशन गर्ने भन्दै हस्ताक्षर अभियान चलाइरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि उनले साथसाथै लिएर हिँडेका छन्।

सिटौलाले सभापति देउवाले कार्यवाहकको जिम्मेवारी विश्वासिला उपसभापतिलाई नै दिँदा राम्रो हुने सङ्केत दिइसकेका छन्। उनले सभापति देउवाले कार्यवाहक सभापति तोक्ने हो भने विधानअनुसार उपसभापतिलाई तोक्न मिल्ने भन्दै पूर्णबहादुरतिर सङ्केत गरेका छन्।

यस विषयमा सिटौलाले भने, ‘कार्यवाहक सभापति दिने कुरा सभापतिज्यूको इच्छाको कुरा हो, विधानसम्मत हुन्छ। कार्यवाहक दिने भनेको आफ्नो जिम्मेवारी सुम्पने हो, विश्वासिलो व्यक्तिलाई दिनुपर्छ। अनि कार्यवाहक स्वतः उपसभापतिलाई नै दिने हो।’

जेन–जी विद्रोहपछि काँग्रेसमा विशेष महाधिवेशन वा नियमित महाधिवेशनको आवाज उठिरहेको छ। सम्भवतः मङ्गलवारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकको मुख्य एजेन्डा नै यही छ। पार्टीका प्रवक्ता प्रकाशशरण महत भने महाधिवेशन समयमै हुने र नियमित नै हुने बताउँछन्।

अन्य एजेन्डाका विषयमा उनले भने, ‘अहिले बदलिँदो राजनीतिक परिवेशका विषयमा चर्चा हुन्छ। पार्टीलाई कसरी एकजुट बनाएर लैजान सकिन्छ भन्नेलगायत सरकारलाई घच्घचाउने विषयमा पनि हामी कार्यक्रम तय गर्छौँ। अहिले नेतृत्व परिवर्तन भन्ने खालको विषयले चर्चा पाउँदैन।’

कार्यवाहक तोकिने विषयमा कुनै चर्चा नभएको महतले उल्लेख गरे। पार्टीका अर्का नेता डा. शशाङ्क कोइरालाले भने सभापति देउवालाई अहिलेको केन्द्रीय कमिटी विघटन गरेर आफ्नो विश्वासपात्र एक जनालाई कार्यवाहक सभापति तोक्न सुझाव दिएका छन्।

उनले भने, ‘विशेष महाधिवेशनतिर जानु आवश्यक छैन। कार्यवाहक सभापतिले नियमित महाधिवेशनको मिति तय गरे हुन्छ। महाधिवेशनको मिति आगामी मङ्सिरमा हुने गरी पार्टीको महाधिवेशनको मिति तय हुन्छ।’

काँग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले महाधिवेशन गर्ने गरी कार्यवाहकको जिम्मेवारी दिन सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन्। राणाले परिवर्तित राजनीतिक घटनाक्रम र स्वास्थ्यलाई मध्यनजर राखेर पनि अगाडि बढ्नुपर्ने बताए।

काङ्ग्रेसभित्र नेतृत्व परिवर्तनका लागि तत्काल महाधिवेशनको माग उठिरहेका बेला देउवा निकट नेता राणाले भने, ‘पार्टीलाई एक ढिक्का बनाई राख्नुपर्नेछ। नेतृत्व परिवर्तनको मुद्दा जोडतोडले उठिरहेको छ। अहिलेको उत्तम विकल्प भनेको यस्तो बेला सभापतिज्यूले कार्यवाहकको जिम्मेवारी दिनु उपयुक्त हुन्छ।’

आजको अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार