पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ

शुक्रबार, २६ मंसिर २०८२
सांकेतिक फाईल

काठमाडौँ : विभिन्न मुलुकमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै ४८ जना यवायुवतीसँग चार करोड ३९ लाख ठगी गरेको आरोपमा काठमाडौँ महानगरपालिका–२७ का ५१ वर्षीय मनोजकुमार सिंह भन्ने अनुपकुमार सिंह पक्राउ परेका छन् ।

सिंहसहित दोलखाको मेलुङ गाउँपालिका–७ का ५१ वर्षीय लड्डुबहादुर श्रेष्ठले बेरोजगार युवायुवतीलाई बेलायतको म्यान्चेस्टर सहरमा सञ्चालित एक होटलबाट कमदारको माग भएकाले सो होटलमा रोजगारी मिलाइदिने भन्दै ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीबाट उनीहरूलाई पक्राउ गरेको हो । उनले आफू पूर्वराजाको भान्जा भएको भन्दै सहजै युवायुवतीलाई ठगी गर्ने गरेको थिए ।

युवायुवतीलाई विश्वास दिलाउन उनले होटल र आफ्नो कम्पनीबीचको नक्कली रोजगार–सम्झौता, काठमाडौँस्थित बेलायती दूतावासको नक्कली पत्र, नक्कली प्रवेशाज्ञा (भिसा) र हवाई टिकटलगायत कागजात देखाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।
 
उनीहरूले आकर्षक तलबको प्रलोभनमा परी युवायुवतीमाथि ठगी गर्ने गरेका थिए । पैसा बुझाएर पनि लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार