पाँचथर : पाँचथरको फिदिम–फालोट सडकअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सन निर्माण कार्य चलिरहेको छ। पूर्वाधार विकास कार्यालय पाँचथरले धमाधम डाइभर्सन निर्माण गरिरहेको जनाएको छ।
गत असोज १८ गते आएको बाढीले यस क्षेत्रको डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको थियो। फिदिम नगरपालिका–१ र ११ को सीमामा पर्ने फेमे खोलामा २० वटा ह्युम पाइप प्रयोग गरेर अस्थायी डाइभर्सन निर्माण भइरहेको छ।
पूर्वाधार विकास कार्यालय पाँचथरका इन्जिनियर मुकेश शाहका अनुसार, डाइभर्सन र पहुँच मार्ग निर्माणको काम सोमबारसम्ममा सम्पन्न गर्ने योजना रहेको छ।
यो सडक फिदिम नगरपालिका–१० देखि १३ नम्बर वडा र फालेलुङ गाउँपालिका–३ देखि ८ लाई सदरमुकामसँग जोड्ने प्रमुख मार्ग हो। सडक अवरुद्ध भएपछि खोलाको वारिपारि रहेका सवारी साधनहरूले यात्रुहरूलाई गन्तव्यसम्म पु¥याइरहेका छन्। यात्रुहरूले करिब १५ मिनेट पैदल यात्रा गरेर खोला पार गर्नुपर्ने अवस्था छ।
गत वर्षको असोज १२ गते आएको बाढीले यहाँको सडक पुल बगाएको थियो। त्यसपछि अस्थायी डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएकोमा, गत जेठमा स्थायी डाइभर्सन निर्माण गरिएको थियो। तर, असोज १८ गतेको बाढीले उक्त स्थायी डाइभर्सन पनि बगाइदियो।
हाल बेलिब्रिज जडानको प्रक्रिया अघि बढाइरहे पनि बजेट अभावका कारण काम पूरा हुन सकेको छैन।
बाढीले डाइभर्सन बगाएपछि यात्रुहरूको आवतजावत सहज बनाउन नेपाली सेनाको फिदिमस्थित वीरदल गणले फड्के निर्माण गरेको छ। तर, सामग्री ढुवानी, स्थानीय उत्पादनको निकासी, बिरामी र असक्त व्यक्तिलाई खोला पार गराउन अझै समस्या भइरहेको छ भन्ने जानकारी फिदिम–११ का स्थानीय लोकबहादुर बुढाथोकीले दिनुभएको छ।
प्रतिक्रिया