झापा : झापाको दमक नगरपालिका–३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा प्रहरीले लागुऔषध (खैरो हेरोइन) सहित आठ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एक जना जेन्जी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भागेका फरार अभियुक्त र अर्का प्रहरी हतियार लुट्ने घटनामा संलग्न व्यक्ति समेत रहेका छन् ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार शनिबार साँझ गोप्य सूचनाको आधारमा शिविरमा बसोबास गर्दै आएका साजन थापाको घरमा छापा मार्दा हेरोइन सेवन तथा बिक्री–वितरणको तयारी भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
खानतलासीका क्रममा चस्माको खोलभित्र लुकाइएको अवस्थामा ७ ग्राम ८०० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ । बरामद लागुऔषध डिजिटल तराजुमा तौल गरी प्रमाणसहित नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेहरूमा :
१. साजन थापा (२७) – दमक–३, भुटानी शरणार्थी शिविर,
२. दिपेश तामाङ (३२) – चुलाचुली–३, इलाम,
३. सनम राई (३२) – चुलाचुली–३, इलाम,
४. आदित्य लिम्बु (१८) – दमक–३,
५. पविन विश्वकर्मा (१९) – दमक–३,
६. सुचन दर्जी (२५) – दमक–३,
७. बिजय माझी (२५) – भुटानी शरणार्थी शिविर सेक्टर द्य२,
८. निश्चल पोर्तेल (२०) – मिक्लाजुङ–८, मोरङ, रहेका छन्।
प्रहरीका अनुसार निश्चल पोर्तेल जेन्जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतबाट भागेका फरार अभियुक्त हुन् । त्यस्तै, आदित्य लिम्बु जेन्जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार लुट्ने घटनामा समेत संलग्न रहेको जानकारी प्राप्त भएको छ ।
प्रहरीले लागुऔषध बिक्री र वितरणमा संलग्न समूहको नेटवर्कबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रतिक्रिया