गाजामा मारिएका पत्रकार शरिफका अन्तिम शब्द

बुधबार, २८ साउन २०८२

काठमाडौँ : अनस अल–शरिफ, अल जजिराका संवाददाता, आइतबार राति इजरायली हवाई आक्रमणमा मारिए। यो सन्देश उनले आफ्ना परिवारका लागि र गाजालाई नबिर्सन संसारसामु गरेको आह्वान पनि हो।

तलको आलेख गाजासिटीको अल–शिफा अस्पताल नजिक पत्रकारहरूका लागि बनाइएको टेन्टमा भएको आक्रमणपछि मृत्यु भएका पत्रकार अनस अल–शरिफको एक्स खातामा मरणोपरान्त प्रकाशन गरिएको थियो।

टेलिभिजन च्यानल अल जजिराका अनुसार यस आक्रमणमा कुल सात जनाको मृत्यु भएको थियो, जसमा अल–शरिफ, अल जजिराका संवाददाता मोहम्मद कुरेक, क्यामेरा अपरेटर इब्राहिम जाहेर, मोहम्मद नौफल र मोआमेन अलिवा पनि थिए।  

यो मेरो इच्छा र मेरो अन्तिम सन्देश हो। यी शब्दहरू तपाईंसम्म पुगे भने थाहा पाउनुहोस् – इजरायलले मलाई मार्न र मेरो आवाज थुन्न सफल सफल भएको छ।

प्रथमतः तपाईंलाई शान्ति, अल्लाहको दया र आशीर्वाद प्राप्त होस्। अल्लाहलाई थाहा छ, जबालिया शरणार्थी शिविरका गल्ली र गल्छेडामा जीवनमा पहिलो पटक मैले आँखा खोलेदेखि नै जनताको आवाज बन्न र उनीहरूलाई साथ दिन मैले आफ्नो सम्पूर्ण शक्ति र प्रयास गरेको छु।

मेरो आशा थियो– अल्लाहले मलाई लामो आयु दिनुहुनेछ ताकि म आफ्नो परिवार र प्रियजनलाई भेट्न कब्जामा लिइएको हाम्रो जन्मभूमि अस्कलान (अल–मज्दाल) फर्कन सकुँ तर अल्लाहको इच्छा पहिलो हुन्छ र उहाँको निर्णय अन्तिम हुन्छ।

मैले पीडाको सबै रूप भोगेको छु, दुःख र क्षतिको स्वाद पटक–पटक चाखेको छु तर मैले सत्यलाई बिना तोडमोड जस्तो छ, त्यही रूपमा सुनाउन कहिल्यै संकोच गरिन। यसो गर्दा हाम्रो हत्यालाई स्वीकार गर्ने, हाम्रो श्वास रोक्न चाहने र हाम्रा बालबालिका र महिलाका छरिएका टुक्रा देख्दासमेत प्रभावित नहुने कठोर हृदय भएका र डेढ वर्षभन्दा बढी समयदेखि हाम्रा जनतामाथि भइरहेको संहार रोक्न केही नगर्नेहरू विरुद्ध अल्लाह साक्षी रहुन भन्ने मेरो चाहना हो।

म तपाईंलाई प्यालेस्टाइनको जिम्मामा सुम्पन्छु – जुन मुस्लिम संसारको मुकुटको रत्न हो र संसारका हरेक स्वतन्त्र व्यक्तिको मुटुको धड्कन हो। म तपाईंलाई यसका जनताको जिम्मा सुम्पन्छु – ती निर्दोष र पीडित बालबालिकाहरू जसलाई कहिल्यै सपना देख्ने वा सुरक्षित र शान्त जीवन बिताउने समय दिइएन। उनीहरूका पवित्र शरीरहरू हजारौं टन इजरायली बम र मिसाइलमुनि थिचिएका छन्, चुँडिएका छन् र भित्ताभित्तामा छरिएका छन्।

म तपाईंलाई अनुरोध गर्छु– न त कुनै तालाले तपाईंको आवाज बन्द गरोस्, न त सीमाले तपाईंलाई रोक्न सकोस्। यो पवित्र भूमि र यहाँका जनताको मुक्तिको पुल बन्नुहोस्, जबसम्म सम्मान र स्वतन्त्रताको घाम हाम्रो लुटिएको मातृभूमिमा उदाउँदैन।

म तपाईंलाई मेरो परिवारको जिम्मा पनि सुम्पन्छु। म तपाईंलाई मेरी प्रिय छोरी शाम, जो मेरो आँखाकी नानी हुन्, जसलाई मैले हुर्किंदै गर्दा हेर्ने अवसर पाइँन्, तिनलाई तपाईंको जिम्मा लगाउँछु। म तपाईंलाई मेरा प्रिय छोरा सलाहलाई जिम्मा सुम्पन्छु – जसलाई म जीवनभर साथ दिन र उसलाई बलियो बनाएर मेरो बोझ उठाउने र यो अभियान अगाडि बढाउने क्षमता दिन चाहन्थें। म तपाईंलाई मेरी आमाको जिम्मा सुम्पन्छु– जसको पवित्र प्रार्थनाले मलाई यहाँसम्म पु¥यायो, जसको आशीर्वाद मेरो सुरक्षा कवच बन्यो र जसको उज्यालोले मेरो बाटो देखायो। म प्रार्थना गर्छु अल्लाहले उहाँलाई शक्ति दिनुहोस् र मेरो तर्फबाट सबैभन्दा उत्तम प्रतिफल दिनुहोस्।

त्यस्तैगरी म तपाईंलाई मेरी जीवनसाथीको जिम्मा सुम्पन्छु – मेरी प्रिय पत्नी उम्म सलाह (बयान), जसबाट युद्धले मलाई धेरै दिन र महिना टाढा राख्यो। उनले भने हाम्रो सम्बन्धलाई दृढतापूर्वक थामिराखिन्– नझुक्ने जैतुनको रुखको फेदझैं अटल भई, धैर्यपूर्वक, अल्लाहमाथि भरोसा गर्दै र मेरो अनुपस्थितिमा सबै जिम्मेवारी साहस र आस्थाका साथ पूरा गरिन्। म अनुरोध गर्छु तपाईं उनीहरूको साथमा रहनुहोस्, अल्लाहपछि उनीहरूको सहारा बन्नुहोस्।

म मरें भने म आफ्ना सिद्धान्तमा अटल रही मर्छु। म अल्लाहका सामु बयान दिन्छु– म उहाँको निर्णयमा सन्तुष्ट छु। म उहाँलाई भेट्नेछु भन्नेमा निश्चिन्त छु र उहाँसँग भएको कुरा नै उत्तम र शाश्वत हुन् भन्नेमासमेत ढुक्क छु।

हे अल्लाह ! मलाई शहीदहरूको समूहमा स्वीकार गर्नुहोस्। मेरा अघिल्ला र पछिल्ला पाप माफ गर्नुहोस् र मेरो रगतलाई मेरो जनता र परिवारका लागि स्वतन्त्रताको बाटो देखाउने उज्यालो बनाइदिनुहोस्। म कहीं चुकेको छु भने मलाई माफ गर्नुहोस् र मेरो लागि दयाको प्रार्थना गर्नुहोस्, किनभने मैले आफ्नो वाचा पूरा गरें र कहिल्यै बदलिइनँ वा धोका दिइनँ।

गाजालाई नबिर्सनुहोस् र मलाई पनि क्षमा र स्वीकृतिको लागि तपाईंको सच्चा प्रार्थनामा नबिर्सनुहोस्।

आजको नागरिक दैनिकमा प्रकाशित छ । (गार्जियनबाट)

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार