काठमाडौं : विदेशमा उच्च शिक्षा हासिल गर्न इच्छुक नेपाली विद्यार्थीहरूको हित र सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरिरहेको अनुगमन र कारबाहीप्रति नेपाल शैक्षिक परामर्श संघले स्वागत गरेको छ ।
विभागले पछिल्लो समय काठमाडौं लगात विभिन्न ठाउँमा अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा कानुनअनुसार अनिवार्य रूपमा अनुमति लिनुपर्ने भए पनि इजाजत नलिई सञ्चालन गरिरहेका केही संस्थाहरू भेटिएका छन् । उनिहरुलाई जरीवानादेखि दण्ड सम्मका कारबाही विभागले गरिरहेको छ ।
इक्यानले पनि आफ्नो तर्फबाट विद्यार्थी र अभिभावकलाई सचेत रहन, सेवा लिनु अघि सम्बन्धित संस्थाको दर्ता र इजाजत प्रमाणपत्र अनिवार्य रूपमा जाँच गर्न अनुरोध गरेको छ । संघका पदाधिकारीहरूको भनाइमा, यी पहलहरूले शैक्षिक परामर्श व्यवसायलाई पारदर्शी, जिम्मेवार र विद्यार्थीमैत्री बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्नेछन् ।
विदेश अध्ययनका लागि विद्यार्थीहरूलाई प्रामाणिक, सुरक्षित र गुणस्तरीय परामर्श सेवा उपलब्ध गराउन लामो समयदेखि सक्रिय रहेको इक्यानले यस कदमलाई ऐतिहासिक र आवश्यक पहलका रूपमा लिएको छ ।
संघका अनुसार, यस सूचनाले अनियमितरूपमा सञ्चालन भइरहेका शैक्षिक परामर्श संस्थाहरूको क्रियाकलापलाई नियन्त्रण गर्ने र विद्यार्थीलाई ठगी वा धोका हुनबाट बचाउने काममा ठोस योगदान पु¥याउनेछ ।
यस विषयमा केही समयअघि संघले विभागका महानिर्देशक कुमार प्रसाद दाहालसहित सम्बन्धित पदाधिकारीहरूसँग एक औपचारिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो । सो अवसरमा, विभागले संघले राखेका सुझावहरूलाई सकारात्मक रूपमा लिँदै त्यसलाई पूर्ण समर्थन जनाएको थियो ।
विभागले २०८२ साल असार ३२ गतेदेखि विभिन्न माध्यमबाट प्राप्त गुनासोका आधारमा शैक्षिक परामर्श सेवा तथा पूर्व–तयारी कक्षा सञ्चालन गर्ने केही संस्थाहरूको विषेशरुपमा अनुगमन गरिरहेको छ ।
विभागले यस्ता इजाजतविहीन संस्थाबाट कुनै पनि सेवा नलिन सर्वसाधारणमा आग्रह गर्दै स्पष्ट पारेको छ कि अनुमति बिना सञ्चालन हुने संस्थाबाट जुनसुकै समयमा ठगीमा पर्न सक्ने जोखिम अत्यधिक हुन्छ ।
यो कदमसँगै नेपालमा शैक्षिक परामर्श सेवा क्षेत्रमा व्यवस्थित अभ्यासलाई बल पुग्ने, विद्यार्थीहरूको सुरक्षामा ठोस प्रभाव पर्ने र अनियमित अभ्यास गर्ने संस्थामाथि कानुनी कारबाहीको मार्ग खुल्ने अपेक्षा गरिएको छ ।
यो पनि :- कोशीका अधिकांश 'एजुकेशन कन्सल्टेन्सी' अवैधानिक ! |
प्रतिक्रिया