लाइसेन्सविहीन र अवैध सफारी नियन्त्रणका लागि विराटनगरमा ‘सुरक्षित चालक’ अभियान सुरु

आइतबार, २७ पुस २०८२

विराटनगर । विराटनगरका सडकमा वर्षौँदेखि देखिँदै आएको सीटी सफारी (ई–रिक्सा)को अराजक, असुरक्षित र अव्यवस्थित सञ्चालन नियन्त्रण गर्न ‘सुरक्षित चालक’ अभियान सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिकाको सहकार्यमा अघि सारेको यो अभियान यात्रु सुरक्षा, सडक सुशासन र कानुनी मापदण्डको पालना सुनिश्चित गर्ने उद्देश्यले लागू गरिएको हो ।

अभियानअन्तर्गत अब विराटनगरमा सञ्चालन हुने सीटी सफारी चालक ट्राफिक प्रहरीद्वारा दर्ता, प्रशिक्षित र प्रमाणित हुनुपर्ने व्यवस्था गरिएको छ । लाइसेन्सविहीन चालक, लापसे तथा मापसे गरी सवारी चलाउने, ओभरस्पिड, जथाभावी पार्किङ र भारतीय नागरिकद्वारा अवैध रूपमा सफारी सञ्चालनजस्ता समस्यालाई समाधान गर्न यो अभियान प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

विराटनगरमा कति सीटी सफारी सञ्चालनमा छन् र कति चालकसँग सवारी चालक अनुमतिपत्र छ भन्ने आधिकारिक तथ्यांक नहुँदा नियमनमा समस्या देखिँदै आएको थियो । यही अवस्थालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले नेपालमै पहिलोपटक कम्प्युटर प्रणालीमार्फत सीटी सफारी चालकको विवरण अभिलेख गर्ने प्रक्रिया सुरु गरेको हो । दर्ता भएका प्रत्येक चालकलाई छुट्टै दर्ता नम्बर प्रदान गरिनेछ, जुन ‘सुरक्षित चालक’ लेखिएको विशेष ज्याकेटको पछाडि स्पष्ट देखिने गरी उल्लेख हुनेछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेका अनुसार ज्याकेटमा उल्लेख दर्ता नम्बरका आधारमा यात्रुले सजिलै उजुरी गर्न सक्ने व्यवस्था मिलाइँदै छ । दर्ता प्रक्रिया पूरा भएपछि चालकलाई ट्राफिक नियम, यात्रु सुरक्षा र जिम्मेवारीसम्बन्धी विशेष अनुशिक्षण तालिम दिइनेछ । तालिमपछि मात्रै चालकलाई ‘सुरक्षित चालक’ लेखिएको ज्याकेट प्रदान गरिनेछ ।

दर्ताका लागि चालकले ट्राफिक प्रहरीले तोकेको फारम भर्नुपर्नेछ, जसमा नाम, नागरिकता नम्बर, फोन नम्बरलगायत विवरण उल्लेख गर्नुपर्नेछ । साथै, सवारी चालक अनुमतिपत्र र नेपाली नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ । विराटनगर भारतीय सीमा नजिकै रहेकाले भारतीय नागरिकद्वारा अवैध रूपमा सफारी चलाउने समस्या बढ्दै गएकाले नेपाली नागरिकता अनिवार्य गरिएको ट्राफिक प्रहरीको भनाइ छ । दर्ता तथा तालिम प्रक्रिया पूर्णतः निःशुल्क रहने जानकारी पनि दिइएको छ ।

प्रहरी निरीक्षक न्यौपानेका अनुसार लाइसेन्स प्राप्त चालकको दर्ता पुस १७ गतेदेखि सुरु गरिएको हो र हालसम्म करिब २ सय जनाले दर्ता गराइसकेका छन् । अभियानको प्रभावका कारण यातायात व्यवस्था कार्यालय विराटनगरमा नयाँ लाइसेन्स लिन फारम भर्नेहरूको संख्या उल्लेखनीय रूपमा बढेको उनले बताए । लाइसेन्स लिन यातायात कार्यालय र ‘सुरक्षित चालक’ अभियानका लागि ट्राफिक प्रहरी कार्यालयमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ ।

WhatsApp Image 2026-01-11 at 1.40.24 PM

अभियानअन्तर्गत लाइसेन्स र ब्लुबुक भएका चालकलाई मात्रै ‘सुरक्षित चालक’ ज्याकेट वितरण गरिनेछ । ज्याकेटमा ट्राफिक प्रहरी र विराटनगर महानगरपालिकाको लोगो रहनेछ । ज्याकेटको दुरुपयोग, नक्कली प्रयोग वा अरूलाई हस्तान्तरण गरिएको पाइएमा कानुनअनुसार कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

‘विकल्प एन अल्टरनेटिभ’ संस्थाले गरेको सर्वेक्षणअनुसार विराटनगरमा सञ्चालनमा रहेका सीटी सफारी चालकहरूमध्ये ८४.०३ प्रतिशतसँग लाइसेन्स नभएको तथ्य सार्वजनिक भएपछि नियमनको आवश्यकता झनै स्पष्ट भएको थियो । यही सन्दर्भमा कोशी प्रदेश सरकारले सीटी सफारी चालकका लागि लाइसेन्स लिने क्रममा लिखित परीक्षा हटाई व्यावहारिक र प्रयोगात्मक परीक्षा मात्रै लिने व्यवस्था लागू गरेको छ ।

यातायात व्यवस्था कार्यालय विराटनगरका अधिकृत तीर्थराज बुढाथोकीका अनुसार नियमनको उद्देश्य दण्ड होइन, सुरक्षित र व्यवस्थित यातायात हो । उनका अनुसार लाइसेन्सविहीन चालक, बिमाविहीन सवारी र ब्लुबुक नवीकरण नगरेका कारण दुर्घटना तथा आर्थिक जोखिम बढ्दै गएको छ । पुस महिनाभित्र अनिवार्य रूपमा लाइसेन्स लिनुपर्ने र माघदेखि लाइसेन्स तथा ब्लुबुक बिना सीटी सफारी चलाउन नपाइने व्यवस्था गरिएको छ ।

ट्राफिक प्रहरीका अनुसार ‘सुरक्षित चालक’ अभियानले अवैध सफारी सञ्चालन अन्त्य गर्ने, नेपाली चालकको आम्दानी सुरक्षित गर्ने र यात्रुलाई भरोसायोग्य सेवा प्रदान गर्नेछ । हाल विराटनगरमा केन्द्रित यो अभियान भविष्यमा मोरङ जिल्लाभर विस्तार गर्ने तयारी रहेको जनाइएको छ ।
WhatsApp Image 2026-01-11 at 1.40.23 PM

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार