काठमाडौँ : नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशन संस्थापन पक्षसँगको सहमति प्रयासका कारण लम्बिँदै गएको छ। दुई पक्षबीच सहमति नजुट्दा काँग्रेस औपचारिक रूपमै फुटको सङ्घारमा पुगेको छ। पार्टी सभापति शेरबहादुर देउवालाई सहमतिमा ल्याउने प्रयासस्वरूप विशेष महाधिवेशन पक्षधरले निर्वाचन कार्यक्रम सार्वजनिक गरे पनि पटक–पटक सारिरहेका छन्।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भने सभापति देउवाको राजनीतिक संन्यासको अडान कायम राखेका छन्। विभिन्न चरणमा भएका द्विपक्षीय तथा समूहगत आन्तरिक छलफलबाट मङ्गलवार दिनभर ठोस निष्कर्ष ननिस्किँदा विशेष महाधिवेशनको निष्कर्ष र पार्टी एकतासहितको साझा समाधान टुङ्गो लाग्न सकेको छैन। एकातर्फ विशेष महाधिवेशन जारी रहँदा अर्कोतर्फ पार्टी एकता जोगाउने प्रयासमा छलफलहरू पनि जारी छन्।
पार्टीभित्र बढ्दो फुटको त्रासबीच काँग्रेसलाई एकढिक्का राख्न वार्ता समितिसहित शीर्ष नेताहरू अलग–अलग छलफलमा जुटिरहेका छन्। सभापति देउवा तथा महामन्त्रीद्वय थापा र शर्मा पक्षबाट गठित वार्ता समितिले दुई चरणमा छलफल गरेको छ। देउवा समूह भने विशेष महाधिवेशनमा सहभागी छैन। थापा–शर्मा समूह भने विशेष महाधिवेशनमा सहभागी हुँदै नेतृत्व चयनको चरणमा पुगेको छ।
यसबीच नेताहरू पार्टी विभाजनबाट जोगाउन मिलनबिन्दु खोज्ने प्रयासमा छन्। विशेष महाधिवेशन पक्षधरले सभापति देउवाले राजीनामा दिँदै पार्टीको कार्यकारी भूमिकाबाट पूर्ण रूपमा अलग हुनुपर्ने ‘बटमलाइन’ राखेपछि सहमति जुट्न सकेको छैन।
त्यस्तै, विशेष महाधिवेशन पक्षधरले देउवाले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्दै राजनीतिबाटै ‘संन्यास’ लिनुपर्ने अडान राखेको छलफलमा सहभागी एक नेताले मङ्गलवार साँझ बताएका छन्।
देउवानिकट एक नेताले भने, “मुख्य विषय पार्टी विभाजन हुन नदिनु र सहमतिका आधारमा अघि बढ्नु हो। तर सभापतिले राजीनामा दिनुपर्ने, निर्वाचनमा उम्मेदवार नहुने वा राजनीतिबाट संन्यास लिनुपर्ने विषय उहाँकै व्यक्तिगत निर्णय हो। यस विषयमा अरूले निर्णय गर्न मिल्दैन।” उनका अनुसार अन्य धेरै विषयमा भने दुवै पक्ष सहमत भइसकेका छन्। विशेष महाधिवेशनलाई पार्टीले स्वीकार गर्ने र त्यहाँबाट पारित दस्ताबेज कार्यान्वयन गर्ने विषयमा सहमति भएको छ।
तर संस्थापन पक्षले आसन्न निर्वाचनमा सहभागी हुने र आगामी वैशाखको अन्तिम साता सहमतिमै नेतृत्व चयन गर्ने प्रस्ताव राखे पनि थापा–शर्मा समूहले अस्वीकार गरेको छ। सभापति देउवाकै हस्ताक्षरमा टिकट लिएर निर्वाचनमा जान नसक्ने अडानमा सो समूह रहेको छ।
दुवै समूहले वार्ता समिति गठन गरेर छलफल गरिरहेका छन्। देउवा समूहबाट रमेश लेखक, बालकृष्ण खाँण तथा शेखर कोइराला पक्षबाट जीवन परियार र डा. मिनेन्द्र रिजाल वार्ता समितिमा छन्। विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, देवराज चालिसे, गुरुराज घिमिरे र मधु आचार्य वार्ता समितिमा सहभागी छन्।
वार्ता समितिमा उठेका कतिपय विषयमा सहमति नजुटेपछि थप छलफल शीर्ष नेतृत्व तहमा हुने भएको छ। काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजन हुन नदिन महामन्त्रीद्वय थापा र शर्मासँग निर्णायक छलफल गर्ने तयारी गरेका छन्। नेतृत्वको राजनीतिक विश्राम वा राजीनामासम्बन्धी निर्णय शीर्ष तहबाटै हुनुपर्ने निष्कर्षमा नेताहरू पुगेका छन्।
काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टी एकता कायम राख्न अधिकतम लचकता अपनाउन तयार रहेको बताएका छन्। “विशेष महाधिवेशनबाट के निर्णय हुन्छ, त्यसको पर्खाइमा छौँ,” उनले भने, “पार्टी विभाजन हुन नदिन हामी अधिकतम लचक हुनेछौँ।”
विशेष महाधिवेशनमा महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको ‘साङ्गठनिक प्रस्ताव’ पारित भएको छ। काँग्रेस विधान संशोधन गर्दै अब एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसद बन्ने व्यवस्था गरिएको छ। प्रत्यक्ष निर्वाचित प्रणालीबाट चार पटक र समानुपातिक प्रणालीबाट एक पटक मात्र सांसद बन्न पाउने व्यवस्था पारित भएको हो। यसले एउटै पदमा निरन्तर टाँसिरहने प्रवृत्ति अन्त्य हुने विश्वास प्रतिनिधिहरूले व्यक्त गरेका छन्।
आइतबारदेखि सुरु भएको काँग्रेस विशेष महाधिवेशनमा मङ्गलवारदेखि सभापतिदेखि केन्द्रीय सदस्यसम्मका पदका लागि उम्मेदवारी दर्ता तथा फारम वितरण प्रक्रिया सुरु भएको छ। निर्वाचन समितिका अनुसार मङ्गलवार रातिदेखि गर्ने भनिएको मतदान बुधवार हुने भएको छ।
यसैबीच, विशेष महाधिवेशनको पक्षमा खुलेका काँग्रेस नेता डा. चन्द्र भण्डारी, डा. सुनिल शर्मासहित केही नेताले नेतृत्व चयन प्रक्रियाबाट अलग रहने घोषणा गरेका छन्।
प्रतिक्रिया