काठमाडौँ : पोखराकी ममता बराल ३ वर्षदेखि अस्ट्रेलियामा काम गर्दै आइरहेकी छन् । पीसीएल नर्सिङपछि उनले पोखराका दुई अस्पतालमा चार वर्ष काम गरेकी थिइन् । तलब १८ हजार थियो । ममता भन्छिन्, “घर खर्च त परको कुरा, चाहिएको सामान किन्न पनि दसपल्ट सोच्नुपर्थ्यो ।”
अस्ट्रेलियामा उनी अहिले ‘यज्ड केयर’ मा काम गर्दैछिन् । ममताले सुनाइन्, “देशमै काम गर्ने सपना हरेकको हुन्छ, मेरो पनि थियो, तर धेरै लगानी गरेर पढे पनि सोचेअनुसार तलब नभएकाले बिदेसिनुपरेको हो। अहिले कम्तीमा आफ्नो र परिवारका लागि चाहिने कुरा किन्न पैसाले अड्किनु परेको छैन ।” उनी भन्छिन् कि नेपालमा थोरै तलब र पेसागत सुरक्षा नहुँदा नर्सहरू बिदेसिन बाध्य हुन्छन् ।
चितवनकी कृति नापित अमेरिकाको एक ट्रमा सेन्टरमा आइसियु नर्सको रूपमा कार्यरत छिन् । नर्सिङ करिअर खोज्दै उनी अमेरिका पुगेको केवल ३ महिना भएको छ । नेपालमा आर्जन गरेको १० वर्षको अनुभव, सीप र अनुशासनलाई उनले अन्तर्राष्ट्रिय स्तरमा सफलतापूर्वक प्रयोग गरिरहेकी छिन् । अत्याधुनिक प्रविधि, व्यवस्थित स्वास्थ्य प्रणाली र पेसागत सम्मानले भरिएको वातावरणमा काम गर्न पाउँदा उनको आत्मविश्वास बढेको उनले बताइन् ।
नापितले सन् २०१५ मा त्रिवि शिक्षण अस्पतालमा स्टाफ नर्सका रूपमा करार सेवाबाट काम सुरु गरेकी थिइन् । दुई वर्षको मिहिनेतपछि त्रिवि सेवा आयोगको परीक्षा उत्तीर्ण गरी स्थायी जागिर पाइन् र एक दशकसम्म शिक्षण अस्पतालमै सेवा दिइन् । नेपालमा रहँदा उनको तलब ६० हजार थियो । उनले बताइन्, “सरकारी स्थायी नर्सको तलब निजी अस्पतालभन्दा राम्रो भए पनि विदेशको अवसरसँग तुलना गर्न सकिन्न ।”
उनले भनिन्, “नर्सले जुन देशमा जाने हो, त्यहाँको नर्सिङ लाइसेन्स लिनुपर्छ, जुन नेपालमा सम्भव छैन। मैले भारतमा गएर एनक्लेक्स परीक्षा उत्तीर्ण गरेको हुँ ।” नर्सको माग बढी हुने, आम्दानी र करिअर दुवै राम्रो हुने भएकाले नेपाली नर्स बिदेसिन थालेको उनको भनाइ छ ।
नेपाल नर्सिङ काउन्सिलका अनुसार सन् २०५९ देखि हालसम्म ५२ हजार २ सय ५५ नर्सले देश छाडिसकेका छन् । हालसम्म सबैभन्दा धेरै २९ हजार ३ सय ८५ नेपाली नर्स अमेरिका रहेका छन् । २०७८/७९ मा ४ हजार नर्स अमेरिका पुगेका थिए भने २०७९/८० मा यो सङ्ख्या बढेर ६ हजार पुगेको छ ।
अमेरिकापछि नेपाली नर्स बढी रहेका देश अस्ट्रेलिया, युएई, डेनमार्क, बेलायत र क्यानडा हुन् । अस्ट्रेलियामा १२ हजार ९ सय २४, युएईमा ४ हजार ४ सय ७४, डेनमार्कमा १ हजार ४ सय ११, बेलायतमा १ हजार २ सय ८२ र क्यानडामा ९ सय ७८ नेपाली नर्स छन् । यी बाहेक १७ अन्य मुलुकमा पनि नेपाली नर्स कार्यरत छन् ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले भने, “विश्व बजारमा नर्सको माग बढ्दो रहेकाले यो पेशा आकर्षक बनेको छ। सहज रूपमा विदेश जान सकिने, राम्रो आम्दानी र सुरक्षित भविष्य भएकाले नर्सहरू बिदेसिन थालेको हो ।”
नेपाल नर्सिङ सङ्घकी पूर्वअध्यक्ष तारा पोखरेलले भने, “अस्थिर सरकार, न्यून अवसर र श्रमको मूल्य कम भएकाले हरेक पेशाका व्यक्तिहरू बिदेसिन बाध्य छन्। ८–१० लाख खर्चेर पढ्छ, तर अत्यधिकमा १५–१८ हजार तलब पाउँछ, अनि को देशमै बस्न चाहन्छ ? पेसागत सुरक्षा पनि छैन ।”
आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया