नर्सहरूका माग पूरा गर्न सातै प्रदेशमा कार्यदल गठन

सोमबार, ०३ कार्तिक २०८२

काठमाडौँ : पारिश्रमिकका लागि सङ्घर्षरत नर्सहरूको समस्याको समाधानका लागि सरकारले सातै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा गठन गरेको समितिको आइतबार बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो।

नेपाल नर्सिङ सङ्घको संयोजकत्वमा सम्बन्धित प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि तथा आन्दोलनरत नर्सका प्रतिनिधि समेत रहने गरी सातै प्रदेशमा कार्यदल गठन गरिने र ती कार्यदलले स्थलगत अनुगमन गरी सुझावसहितको प्रतिवेदन पेस गर्ने समितिका सदस्य डा. अनुप बास्तोलाले जानकारी दिए।

मन्त्रालयको गुनासो सुनुवाइ एकाइका प्रमुखसमेत रहेका डा. बास्तोलाका अनुसार, सो कार्यदलले श्रेष्ठ नेतृत्वको समितिसँग समन्वय गर्दै काम गर्न सक्नेछ।

प्रधानमन्त्री कार्कीले आइतबार बिहान मन्त्रीस्तरीय निर्णयमार्फत नर्सिङ स्वास्थ्यकर्मीहरूको सेवा र सुविधासम्बन्धी अल्पकालीन तथा दीर्घकालीन सुझावसहितको कार्यान्वयन योजना प्रतिवेदन सात दिनभित्र पेस गर्नुपर्ने कार्यादेशसहित समिति गठन गरेकी थिइन्।

समितिले आइतबारको बैठकमा तिहार बिदाको अवधिमा भर्चुअल माध्यमबाट अध्ययनको काम अघि बढाउने गरी सातै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ।

समितिको दोस्रो बैठक कात्तिक ९ गते बिहान ११ बजे बोलाइएको छ। उक्त बैठकमा नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसनसहित निजी क्षेत्रका प्रतिनिधिलाई अनिवार्य उपस्थित हुन समितिले भनेको छ।

समितिले तयार पारेको कार्ययोजनासहितको प्रतिवेदन मन्त्रिपरिषद्मा पेस गरिनेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार