काठमाडौँ : अब ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुहरूलाई देशभरका आन्तरिक हवाई उडानमा ठूलो राहत मिल्ने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबारदेखि लागू हुने गरी हवाई भाडामा विशेष छुट दिने निर्णय गरेको छ।
प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा बसेको बैठकमा वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष तथा आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिहरू सहभागी थिए।
बैठकमा सहमतिअनुसार विभिन्न उमेर समूहका ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुका लागि छुट दर तोकिएको प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ।
निर्णय अनुसार ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले हवाई टिकटमा नेपाल सरकारले तोकेको अधिकतम भाडामा ५० प्रतिशत छुट पाउने छन्। त्यस्तै ७५ वर्षभन्दा माथिका यात्रुका लागि ७० प्रतिशत र ८० वर्षभन्दा माथिका यात्रुका लागि ८० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।
फरक क्षमता भएका यात्रुहरूका लागि पनि न्यूनतम ५० प्रतिशत भाडा छुट अनिवार्य गरिएको छ। प्राधिकरणले सबै आन्तरिक वायुसेवा कम्पनीहरूलाई यो व्यवस्था आज (आइतबार) देखि नै लागू गर्न निर्देशन दिएको छ।
प्राधिकरणका अनुसार यो निर्णयले आन्तरिक हवाई सेवामा पहुँच विस्तार र सामाजिक समावेशिताको भावना मजबुत बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया