काठमाडौँ : नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायलबाट नेपाल ल्याइँदै छ ।
आइतबार दिउँसो इजरायली परराष्ट्र मन्त्रालयका पदाधिकारीले इजरायलको बेन गुरियन विमानस्थलमा विपिनप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेर शव नेपाल पठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एपीले जनाएको छ ।
सो क्रममा इजरायलमा रहेका नेपाली समुदाय, विपिनलाई आश्रय दिएको किबुज समुदायले उनिप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
विपिनको शव फ्लाइ दुबईमार्फत सोमबार दिउँसो २:२० बजे काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने र त्यसपछि अन्त्येष्टिका लागि परिवारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेपालस्थित इजरायली दूतावासले जनाएको छ ।
इजरायल हमासबिच चलेको दुई वर्ष लामो युद्धविरामपछि हमासद्वारा बन्धक बनाइएका जीवितलाई छोडिएसँगै बन्धक अवस्थामै मारिएकामध्ये केहीको शव हमासले इजरायललाई हस्तान्तरण गरेको थियो ।
सोही क्रममा पहिलो चरणमा हस्तान्तरण गरिएका चार जनाको शवमध्ये जोशीको पनि इजरायली सरकारलाई हस्तान्तरण गरिएको थियो ।
सन् २०२३ अक्टोबर ७ को बिहानीमा इजरायलमा हमासले गरेको आक्रमणका क्रममा हमासद्वारा बन्धक बनाएर लगिएका विपिन उतै मारिएको समाचार दुई वर्षपछि सार्वजनिक भएको थियो ।
यसबिचमा विपिनका परिवार र नेपाल सरकारले विपिनको सकुशल रिहाइका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्च पुगेर निकै पहल गरेका थिए ।
२३ वर्षीय जोशी इजरायली अन्तर्राष्ट्रिय सहयोग नियोग (मसाभ) अन्तर्गत सिक र कमाऊ कार्यक्रम अन्तर्गत कृषि विषयमा अध्ययन गर्न र कमाउन त्यहाँ आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र इजरायल पुगेका थिए ।
उनी इजरायलको किबुज एलुमिममा रहेर कामसँगै अध्ययन गरिरहेका थिए । ७ अक्टोबर २०२३ मा हमासले सोही किबुज पसेर अचानक आक्रमण गर्दा उनीसँगै रहेका अन्य १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।
घाइते भएका छ जनाको उपचारपछि नेपाल फर्काइएको थियो । उनलाई भने हमासले बन्धक बनाएर आफूसँगै गाजापट्टी लगेका थिए ।
प्रतिक्रिया