काठमाडौं। जेन-जी विद्रोहपछि पुराना दलहरुमा पुस्तान्तरणको बहस चर्किंदा नेतृत्व हस्तान्तरणका लागि ‘लचिलो’ देखिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समय बित्दै जाँदा शक्ति हस्तान्तरण गर्न अनिच्छुक देखिएका छन्।
विद्रोहका बेला प्रदर्शनकारीको भौतिक आक्रमण समेत झेलेका देउवाले माहोल तातेको तत्कालीन समयमा पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर आफूलाई ‘लचिलो’ देखाएका थिए। तर, विद्रोह गर्ने युवा पुस्ताहरु नै विभिन्न समूहमा विभाजित भएर कमजोर हुन थालेपछि देउवा पुनः शक्ति आफ्नै पकडमा राख्ने प्रयासमा जुटेका छन्।
देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको भए पनि अझैसम्म पार्टीको वास्तविक सभापति देउवा नै हुन्। पार्टी विधानअनुसार देउवाले कार्यवाहकलाई जुनसुकै बेला जिम्मेवारीबाट हटाउन सक्छन्। अहिलेसम्म खड्काबाट कार्यवाहकको जिम्मेवारी फिर्ता नलिएको भए पनि देउवा पार्टीभित्र भने सभापतिकै शक्तिका साथ सक्रिय हुन थालेका छन्।
कांग्रेसभित्र निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने संस्थापनइतर पक्षको मागलाई मत्थर पार्दै आफ्नै नेतृत्वमा निर्वाचनमा जाने माहोल बनाउन देउवाले सक्रियता बढाएका छन्। यसका लागि उनले निर्वाचनअघि महाधिवेशनको प्रक्रिया मात्रै सुरु गर्ने शर्तमा महाधिवेशन पक्षधरलाई मनाउने प्रयास थालेका छन्।
कांग्रेसभित्र निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने संस्थापनइतर पक्षको मागलाई मत्थर पार्दै आफ्नै नेतृत्वमा निर्वाचनमा जाने माहोल बनाउन देउवाले सक्रियता बढाएका छन्। यसका लागि उनले निर्वाचनअघि महाधिवेशनको प्रक्रिया मात्रै सुरु गर्ने शर्तमा महाधिवेशन पक्षधरलाई मनाउने प्रयास थालेका छन्।
पार्टीको विधानअनुसार देउवाको कार्यकाल सकिइसकेको छ। विधानले लिएको विशेष अधिकार प्रयोग गरेर आफ्नो कार्यकाल केही समय लम्ब्याउनेबाहेक देउवासँग पार्टी सभापतिमा रहिरहने अर्को कुनै विकल्प छैन। दुई कार्यकाल सभापति भइसकेका उनी फेरि सभापतिको निर्वाचनमा सहभागी हुन पाउँदैनन्।
आफू फेरि सभापति हुन नपाउने अवस्थामा देउवाले आउँदो निर्वाचनमा आफ्नै नेतृत्वमा जाने र आफू सभापति नरहे पनि सभापतिको जिम्मेवारीमा आफ्नै पक्षका नेतालाई जिताएर पार्टीमा आफ्नो पकड कायमै राख्ने रणनीति बनाएका छन्। यसका लागि पार्टीका सांसदहरु आफ्ना हुनुपर्ने भएकोले निर्वाचनको टिकट वितरण आफ्नै अधीनमा गर्ने देउवाको रणनीति प्रस्ट देखिएको छ।
पार्टीमा महामन्त्रीहरु गगन थापा, विश्वप्रकाश शर्मासहित अघिल्लो महाधिवेशनमा देउवासँग सभापतिमा भिडेका नेता शेखर कोइराला समेत सकेसम्म पुसभित्रै नियमित महाधिवेशन गर्ने र त्यसो हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। तर, देउवाले उनीहरुलाई भुलाउँदै निर्वाचनमा आफ्नै नेतृत्वमा जाने रणनीति अगाडि बढाइरहेका छन्।
यो रणनीतिको पहिलो चरणमा देउवा सफल पनि भइसकेका छन्। निर्वाचन आयोगमा दल दर्ता गर्ने अन्तिम मितिसम्म आलटाल गरेरै देउवाले महाधिवेशनको मिति तोकेनन्। यससँगै अन्तिम समयमा पार्टी सभापतिको रुपमा देउवाकै हस्ताक्षरमा निर्वाचन आयोगमा दल दर्ता भइसक्यो। यसले देउवाकै नेतृत्वमा चुनाबमा जाने बाटो सहज पारिसकेको छ।
यसरी दल दर्ता भइसकेपछि उठेको प्रश्नको जवाफ दिँदै महामन्त्री गगन थापाले निर्वाचनअघि नै महाधिवेशन हुने दाबी गरेका थिए। उनले महाधिवेशनपछि नयाँ सभापतिको नेतृत्वमा निर्णय सच्याएर निर्वाचन आयोगमा दल दर्ता गरिने दाबी समेत गरेका थिए। यद्यपि पार्टीले अझैसम्म महाधिवेशनको मिति घोषणा भने गरेको छैन।
प्रतिक्रिया